संविधान सुझावमा एमाले कार्यदल : अग्नि खरेलको संयोजकत्वमा उपसमिति गठन
३१ जेठ, काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेले संविधानमा सुझाव दिनका लागि गठन गरेको कार्यदलले कामको सहजताका लागि उपसमिति गठन गरेको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले अग्नि खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको सचिव महेश बर्तौलाले जानकारी दिए ।
उपसमितिको सदस्यहरूमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन । उपसमितिलाइ संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल तथा कमजोर पक्ष र कार्यान्वयनका क्रममा देखिएका जटिलता सहितको पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न र संविधान संशोधन सम्बन्धी सुझाव संकलनको जिम्मा दिइएको छ ।
बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र बिद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढ गर्न र थप प्रभावकारी बनाउन राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रहरूबाट सुझाव संकलन गरी संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले अन्य राजनीतिक दलहरू र दलहरुले गठन गरेका संविधान संशोधन सम्बन्धी कार्यदलहरूसँग संवाद, छलफल तथा अन्तरक्रिया गर्न पहल गर्ने र संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले केन्द्रीय सचिवालयको गत जेठ ४, ८ ,९ र १० गते बसेको बैठकले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठन गरेको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको हो ।
कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरे सदस्य रहेका छन ।
प्रकाशित मिति : June 14, 2026 at 8:45 pm









