प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै चौकीमै विद्यार्थीको धर्ना
२८ जेठ, काठमाडाैँ । काठमाडाैँको अमृत क्याम्पसका होस्टेलमा बस्ने विद्यार्थीहरूले आफ्ना सहपाठीमाथि भएको आक्रमण घटनामा प्रहरी प्रशासनले निष्पक्ष भूमिका नखेलेको आरोप लगाउँदै बिहीबार सोह्रखुट्टे प्रहरी वृत्तभित्र धर्ना कार्यक्रम गरेका छन्।
विद्यार्थीहरूको दाबी अनुसार गत शुक्रबार भएको आक्रमण घटनामा पीडित पक्षले प्रारम्भिक रूपमा निवेदन दर्ता गराए पनि प्रहरीले आवश्यक गम्भीरता नदेखाएको आरोप छ। निरन्तर दबाबपछि मात्र आज छलफलका लागि पीडित पक्षलाई प्रहरी वृत्तमा बोलाइएको उनीहरूको भनाइ छ।
छलफलका क्रममा घटनालाई कानुनी प्रक्रियाअन्तर्गत अघि बढाउनुको सट्टा जबरजस्ती मेलमिलाप गराउन खोजिएको आरोप समेत विद्यार्थीहरूले लगाएका छन् । उनीहरूका अनुसार किटानी जाहेरीका लागि आवश्यक पर्ने आरोपितको विवरण उपलब्ध नगराई उल्टै घटनामा संलग्न भनिएका व्यक्तिलाई छाडिएको दाबी गरिएको छ।

विद्यार्थीहरूले यस घटनामा प्रहरी प्रशासनका अधिकारीहरू, विशेषगरी डिएसपी चक्र बहादुर शाह र इन्स्पेक्टर बिरेन्द्र केसीको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा घटनाको अनुसन्धान निष्पक्ष नभई प्रक्रियागत कमजोरी देखिएको छ।
धर्नामा सहभागी विद्यार्थीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।
प्रकाशित मिति : June 11, 2026 at 10:59 pm









