२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

बजेटले गरिबलाई झन् गरिब, धनीलाई झनै धनी बनाउने नीति लिएको देखिन्छः एमाले

२८ जेठ, काठमाडौं । नेकपा एमालेले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिबलाई छुन नसकेको टिप्पणी गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले उक्त टिप्पणी गरेकी हुन्।

उनले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरूको चुल्होमा सधै आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खडकिएको पनि बताइन् । अर्यालले सरकारको बजेटले गरिवलाई झनै गरिब बनाउने र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘२० प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ ? जगलाई कमजोर राखेर तला थप्ने कुरा कत्तिको वैज्ञानिक हो ? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन् माथि लैजाने नीति लिएको देखिन्छ । त्यसैले यो हुनेखाने र हुँदा खानेबीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो ।’

प्रकाशित मिति : June 11, 2026 at 5:06 pm