अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्नः तपाईँलाई हामीले कसरी विज्ञ मान्ने ?
२८ जेठ, काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकाले गरिब नागरिकलाई सेवा दिने भन्दा पनि ठूलो व्यापारीहरुलाई पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाएका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै यनले यस्ताे बताएका हुन् ।
उनले अहिलेकाे बजेट ल्याउने मन्त्रीलाई विज्ञ भन्न नसकिने बताएका छन् । उनले भने, ‘नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा रहेका नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने? हामीलाई आवश्यक के हो भन्ने कुरा पनि अर्थमन्त्रीलाई ज्ञान हुँदैन भने हामीले कसरी विज्ञ मान्न सक्छौँ? ’

शाहीले रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको बताए। उनले भने, ‘यो बजेटले अव बिरामीहरुलाई समेत कर लगाउने बाटो खोलेको छ। उपचारको खर्चमा कर लगाउनु भनेको निजी अस्पतालमाथि कर लगाउनु होइन। अन्ततः त्यो कर उपचार गराउन गएका विरामीले तिर्नुपर्ने हुन्छ । रोगसँग लडिरहेको नागरिकबाट समेत कर उठाउने सरकार कति कति निर्दयी।’
उनले स्वदेशी औषधि उद्योगलाई संरक्षण गर्नुपर्नेमा आयातित औषधिलाई सहज हुने नीति ल्याइएको आरोप लगाए। नेपाली औषधि उद्योग प्रभावित हुने, हजारौँ युवाको रोजगारी जोखिममा पर्ने तथा ५० भन्दा बढी ठुला औषधि उद्योग बन्द हुने अवस्था सिर्जना हुन सक्ने बताए।
प्रकाशित मिति : June 11, 2026 at 4:52 pm









