अर्थमन्त्रीलाई निश्कलको प्रश्नः कसको स्वार्थमा बारम्बार करका दर हेरफेर गर्नुभयो ?
२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले अर्थमन्त्री स्वर्णिम वाग्लेले बारम्बार करका दरमा हेरफेर गरेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमाथि भाग लिँदै राईले यस्ताे बताएका हुन् ।
उनले भने, ‘अर्थमन्त्रीज्यूले करका दरमा बारम्बार हेरफेर गर्नुभयो। उहाँले संसद्को अधिकारमा कैँची चलाउनुभएको हो कि वा आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? ’ उनले करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो? भन्दै प्रश्न गरे । ‘सदनमा पेस भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ?’ उनले भने ।

उनले सदनमा पेश भइसकेको विधेयकमाथि आफूखुशी बदल्ने वा सच्याउने काम राजद्रोह सरह रहेकाले छानबिन हुनुपर्ने माग गरे । ‘यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो?, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र? कुन स्वार्थमा करका दर आफूखुसी परिवर्तन भयो?,’ उनले भने, ‘सदनमा पेस भएको विधेयकलाई सरकारले आफूखुसी सच्याउन पाउँदैन। अर्थमन्त्री संविधान भन्दा माथि हुनुहुन्न, अर्थमन्त्रीको कदम उहाँ प्रतिपक्षमा हुँदाको भाषामा राजद्रोहसरह छ। यसमा छानबिन हुनुपर्छ।’
प्रकाशित मिति : June 11, 2026 at 3:36 pm







