नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः रामबहादुर थापा
२७ जेठ, काठमाडौं । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिए ।
परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको सङ्घर्ष भिन्न तरिकाले जारी राख्ने उनको भनाइ छ । नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले यस्तो अभिव्यक्ति सच्याउन आफ्नो पार्टीका नेता निर्देशन दिन सक्ने तथा सभामुखले त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएमा अत्यावरोध अन्त्य हुने धारणा राखे ।

बादलले देश गम्भीर संकटको भूमरीमा फसेको बताएका छन् । उनले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भनेर अभिव्यक्ति दिनु गम्भीर भएको बताउँदै सदनमै आएर सच्याउनुपर्ने बताएका हुन्।
उनले भने, ‘‘देशको स्वाधीनता सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले त्यससँग सम्बन्धित विषय सम्बोधन नगरी अन्य एजेन्डामा जान सकिँदैन। प्रधानमन्त्रीको त्यो अभिव्यक्ति रेकर्डबाट नहटाउँदासम्म संसद्को कारबाही अगाडि बढ्न सक्दैन। देश पहिला हो, देशको स्वाधीनता प्रमुख कुरा हो।’
प्रकाशित मिति : June 10, 2026 at 5:09 pm










