विदेशमा पढ्न जाने विद्यार्थीलाई पठाउनुपर्ने रकममा ५ प्रतिशतसम्म थप गर्न पाइने
२६ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको खातामा तोकिएको भन्दा बढी विदेशी मुद्रा राख्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज विदेशी विनिमय कारोबार गर्ने निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०८२ लाई संशोधन गर्दै वैदेशिक अध्ययन प्रयोजनका लागि देखाउनुपर्ने बैंक खातामा तोकिएभन्दा ५ प्रतिशत बढी ब्यालेन्स राख्न पाउने व्यवस्था गरेको हो ।
संशोधित व्यवस्थाअनुसार राष्ट्र बैंकले भारत बाहेकका अन्य देशहरूमा अध्ययनका लागि जाने विद्यार्थीलाई प्रदान गरिने सटही सुविधा थप सहज बनाएको हो । नयाँ व्यवस्थाअनुसार विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति, नवीकरण तथा दैनिक निर्वाह खर्चका लागि सम्बन्धित देशको दूतावास वा सरकारी निकायले आवश्यक ठहर गरेमा विद्यार्थीको खातामा तोकिएको रकमभन्दा बढीमा ५ प्रतिशतसम्म अतिरिक्त विदेशी मुद्रा राख्न सकिने व्यवस्था गरिएको छ ।

यसैगरी, राष्ट्र बैंकले तोकेको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका स्थानीय मुद्रामा निश्चित रकम देखाउनुपर्ने प्रावधान रहेको पुष्टि हुने कागजात पेश भएमा आवश्यक रकम बराबरको सटही सुविधा उपलब्ध गराइने जनाएको छ ।
राष्ट्र बैंकले कागजी प्रक्रियालाई सरल बनाउँदै डिजिटल हस्ताक्षरलाई पनि मान्यता दिएको छ । राष्ट्र बैंकको एकीकृत परिपत्र बमोजिम पेस गर्नुपर्ने कागजातहरू ‘सक्कल’ नै हुनुपर्ने व्यवस्था भएपनि अब ‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३’ बमोजिम डिजिटल हस्ताक्षरबाट प्रमाणित गरिएका कागजातले पनि मान्यता पाउने व्यवस्था केन्द्रिय बैंकले गरेको छ ।
प्रकाशित मिति : June 9, 2026 at 4:03 pm









