रास्वपाले भन्यो : श्रीमती हत्या आरोपी नेपाली ब्रो पार्टी सदस्य होइनन्, भाइरल सदस्यता कार्ड नक्कली
२५ जेठ, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका कुमार थापा (नेपाली ब्रो) पार्टीको सदस्य नभएको स्पष्ट पारेको छ। रास्वपा नुवाकोट जिल्ला कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा कुमार थापालाई पार्टीको सक्रिय सदस्य भनेर प्रचार गरिएको सदस्यता कार्ड नक्कली भएको जनाएको हो।
विज्ञप्तिअनुसार, सामाजिक सञ्जालमा सार्वजनिक गरिएको कार्डमा २०८३ असोज २२ गते सदस्यता लिएको र सदस्य नम्बर ‘JJR2ख-0003294866’ उल्लेख गरिएको छ। तर नुवाकोटमा पार्टीको सदस्यता नम्बर ‘NUW 2 ख-0000’ बाट सुरु हुने भएकाले उक्त कार्ड आधिकारिक नभएको र नक्कली भएको अध्यक्ष रामेश्वर गजुरेलले जानकारी दिएका छन ।

रास्वपाले विदुर नगरपालिका–४ मा कुमार थापा नाम गरेका कुनै पनि व्यक्ति पार्टीको सदस्य नरहेको जनाएको छ । साथै, गलत तथ्य र भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
पार्टीले यस्ता अपुष्ट र भ्रामक सूचनाप्रति नलाग्न सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक तथा सर्वसाधारणमा समेत अनुरोध गरेको छ। रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक सञ्जालमा फैलाइएको सदस्यता कार्डको सत्यतामाथि प्रश्न उठाउँदै तथ्यहीन प्रचारप्रति सचेत रहन आग्रह गरिएको छ।
प्रकाशित मिति : June 8, 2026 at 3:51 pm









