२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

एमाले नेता डाँगीका लागि इप्पानको संशोधित विधान ‘कु’ गर्ने अध्यक्ष कार्कीको घोषणा

२५ जेठ, काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले साधारणसभाबाट संशाेधन भएको विधान माथि ‘कु’ गरेका छन । २०८३ वैशाख १९ गते दैनिकीले पहिलो पटक इप्पानको नयाँ नेतृत्व चयनका लागि हुन लागेको २४औँ वार्षिक साधारणसभाको सम्मुखमा संशोधन भएको विधान नै गायब भएको खुलासा गरेको थियो ।

दैनिकीमा निर्वाचनको पूर्वसन्ध्यानमा इप्पानको संशोधन भएको विधान नै गायब, के थियो संशोधनमा ?’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । इप्पानका उपमहासचिव प्रकाश दुलालले ‘दैनिकी संवाद’मा माधवप्रसाद तिवारीसँग कुरा गर्दै विधान गायब भएको विषय पुष्टि गर्नुभएको थियो ।

विषय सार्वजनिक भएको ठीक एक महिनापछि अध्यक्ष कार्कीले विधान संशाेधन भएको स्वीकार गर्दै उक्त विधान कार्यान्वयन नगर्ने घोषणा गरेका छन । उनले २०८३ जेठ २५ गते सोमबार एक विज्ञप्ति जारी गर्दै संशाेधन भएको विधान इप्पानकै सचिवालयमा रहेको र त्यसको कार्यान्वयन यो अधिवेशनमा नहुने घोषणा गरेका छन ।

कुनै पनि संस्थाको सर्वोच्च निकाय भनेको साधारणसभा हो तर इप्पानका अध्यक्ष कार्कीले भने साधारणसभाबाट अनुमोदन भैसकेको संशाेधन विधान नमान्ने घोषणा गरेका हुन । कार्कीको यो घोषणासँगै संशाेधन भएको विधानमा ‘कु’ भएको छ ।

इप्पानको २०८० जेठ ३२ गते सम्पन्न २१ औँ वार्षिक साधारसभाले विधान संशोधनका लागि भानुभक्त पोखरेलको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिको सदस्यहरूमा रामप्रसाद आचार्य, होमकान्त चौलागाइ, सुमनप्रसाद शर्मा र डा सन्दीप शाह सदस्य रहेका थिए । समितिले २०८२ असार २९ गते विधान संशोधनको प्रस्ताव पेश गरेको थियो ।

इप्पानको २३ औँ साधारणसभाले उक्त संशोधन प्रस्तव सर्वसम्मतिले पारित गरेको थियो । सोही निर्णय र विधान जिल्ला प्रशासन कार्यालयमा समेत बुझाएर संस्थाको नविकरण समेत भएको छ । तर अध्यक्ष कार्कीले उक्त विधान तत्काल कार्यान्वयन नहुने घोषणा गरेका छन ।

कार्कीले अघिल्लै साधारणसभाबाट अनुमोदन भैसकेको विषय पुनः साधारणसभा लैजाने घोषणा गरेका छन । उनले आगामी २०८३ साल जेष्ठ २९ गते हुने २४ औ बार्षिक साधारणसभाका लागि बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने र विधान संशोधन भए पश्चात एक कार्यकाल कार्य समितिमा रहेका विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेदवार हुन पाउने तथा अन्य सबै पदमा खुल्ला रुपमा उम्मेदवारी दिने गरी प्रस्ताव लैजाने घोषणा गरेका हुन । जबकी यो विषय इप्पानको २३ औँ साधारणसभाले सर्वसम्मतिले अनुमोदन गरिसकेको छ । जुन निर्णयको छायाँप्रति यहाँहरूले हेर्न सक्नुहुन्छ ।

प्पानको २३ औँ साधारणसभाले पारित गरेर प्रमाणित भएको निर्णय ।

कार्कीले सोमबार जारि गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८० साल जेष्ठ ३२ गते सम्पन्न इप्पानको २१ औ बार्षिक साधारणसभाले श्री भानुभक्त पोखरेल संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुर्नलेखन समिति गठन भएको र सो समितिले २०८२ साल जेष्ठ २९ गते विधानको पुर्नलेखन सम्बन्धमा संस्थालाई महासंघको रुपमा रुपान्तरण गर्ने मस्यौदासहितको सुझाव पेश भएको थियो । र उक्त समितिको प्रतिवेदनमाथि छलफल २०८२ साल असार ३१ गते सम्पन्न इप्पानको २३ औ बार्षिक साधारणसभाले सो को कार्यान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिएको थियो । अध्यक्षले उक्त महासंघ बनाउन नसक्ने गरी २०८३ साल बैशाख ४ गते सम्पन्न २०० औ कार्य समितिको बैठकले इप्पानको विधान २०७८ अनुसार २४ औ बार्षिक साधारणसभा एवं आठौ अधिवेशन गर्ने निर्णय गरेको पनि जानकारी गराउन चाहान्छौ । २०८३ साल जेष्ठ २५ गते सम्पन्न २०३ औ बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी आगामी २०८३ साल जेष्ठ २९ गते हुने २४ औ बार्षिक साधारणसभाका लागि बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने र विधान संशोधन भए पश्चात एक कार्यकाल कार्य समितिमा रहेका विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेदवार हुन पाउने तथा अन्य सबै पदमा खुल्ला रुपमा उम्मेदवारी दिने गरी प्रस्ताव लैजान लागेको पनि जानकारी गराउन चाहान्छौ ।’

कार्कीले संशोधित विधान ‘कु’ गर्नुको कारण मोहनकुमार डाँगी रहेको इप्पानका नेताहरू बताउँछन । नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सदस्य रहेका डाँगी तेह्रथुमका हुन । उनै डाँगीलाई इप्पानको स्वतः अध्यक्ष बनाउन कार्कीले सोमबार विज्ञप्ति मार्फत आफ्नो प्रतिरक्षाको प्रयास गरेको देखिन्छ । इप्पानभित्रको एकाधिकार अन्त्यका लागि विधानमा गरिएको संशोधन नै गायब बनाएर पुरानै विधानमा निर्वाचनको तयारी गरिएपछि उपमहासचिव दुलालले यसको भण्डाफोर अभियान नै चलाएका थिए ।

२३ औँ साधारणसभामा प्रस्तुत भएको विधान संशाेधनको प्रस्ताव ।

सधैँ सीमित व्यक्तिहरू कर्मचारीको बढुवाको शैलीमा संस्थामा रहिरहने भएपछि इप्पानलाई लोकतान्त्रिक बनाउन यस्तो व्यवस्था प्रस्ताव गरिएको थियो । तर उक्त व्यवस्था फेरि गायब बनाएर पुनः पुरानै लयमा संस्थाभित्र एकाधिकार कायम राख्नेगरी संशोधन भएको विधान समेत नमान्ने बताएपछि थप विवाद उत्पन्न भएको छ ।

इप्पानले नयाँ नेतृत्व चयनका लागि अभिवक्त चिरञ्जिवी खतिवडाको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिसकेको छ । समितिले पुरानै विधान अनुसार कार्यसमितिको चयनको तयारी गरिरहेको छ । इप्पानको विधानमा वरिष्ठ उपाध्यक्ष पद हटाउने, उपाध्यक्ष ५ जना रहने ४ जना खुला र एक महिला हुने, सचिव ५ जना रहने तीन खुला, एक महिला र एक युवा हुने व्यवस्था रहेको छ ।

इप्पानको अध्यक्ष र पदाधिकारी हुन कुनै पनि राजनीतिक दलको कमिटीमा नरहेको हुनुपर्ने व्यवस्था छ । डाँगी एमालेको कोशी प्रदेश कमिटीको सदस्य रहेका कारण स्वतः अध्यक्ष हुन पनि समस्या रहेको इप्पानका जानकारहरू बताउँछन । इप्पानमा अहिले अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी र महासचिव बलराम खतिवडा  छन ।

कार्कीले सोमबार जारी गरेको विज्ञप्ति ।

प्रकाशित मिति : June 8, 2026 at 3:29 pm