२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

नयाँ राजनीतिक संस्कार स्थापित गर्दै छौँ : मन्त्री तिमिल्सिना

२३ जेठ, नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताए ।

“सरकार र मन्त्रीलाई प्रलोभनमा पारेर निर्णय प्रभावित गर्ने बिचौलियातन्त्रका नाइकेहरूको भूमिका समाप्त हुँदै गएको छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने, “वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक छ र राजनीति कस्तो हुनुपर्छ भन्ने उदाहरण हामीले प्रस्तुत गर्नुपर्छ।”

उनले राजनीति कुनै व्यक्ति विशेषको स्वार्थपूर्ति गर्ने वा कसैलाई पदमा पुर्‍याउने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गरे । विकास निर्माणका काममा कुनै क्षेत्र वा समुदायलाई विभेद नगरिएको उल्लेख गर्दै उनले विकासमा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको बताए ।

शक्ति, पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँट गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउँदै सञ्चारमन्त्री तिमिल्सिनाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताए । उनले सरकार र सत्तारुढ दलले नागरिकका आकांक्षा, गुनासा र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : June 6, 2026 at 12:32 pm