भोलि नुवाकोटको पाँच वटा पालिकामा विधुत सेवा बन्द हुने
२२ जेठ, नुवाकोट । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले शनिबार शिवपुरी गाउँपालिका तथा आसपासका क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार चौघडा सबस्टेसनबाट सञ्चालित फिडर नम्बर ३ अन्तर्गतका शिवपुरी गाउँपालिकाका सम्पूर्ण क्षेत्र तथा पञ्चकन्या गाउँपालिका–५ का केही स्थानमा विद्युत् अवरुद्ध हुनेछ। यस्तै देवीघाट सबस्टेसनबाट सञ्चालित फिडर नम्बर ५ अन्तर्गत बेलकोटगढी नगरपालिका–१, १०, ११, १२ र १३, ककनी गाउँपालिका–६ तथा लिखु गाउँपालिका–३ मालाकोट क्षेत्रमा पनि विद्युत् सेवा प्रभावित हुने जनाइएको छ।

प्राधिकरणका अनुसार ११ केभी लाइन मर्मत तथा बस बुसिङसम्बन्धी कार्य गर्नुपर्ने भएकाले जेठ २४ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा बन्द गरिनेछ।
निर्धारित समयमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले सहयोगका लागि अनुरोध गरेको छ। प्राधिकरणले मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने जनाएको छ।

प्रकाशित मिति : June 5, 2026 at 7:23 pm









