२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

एभरेष्ट कलरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२२ जेठ, काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै, कम्पनीले ३९ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार ८०० कित्ता सेयर कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता  र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले जेठ २७ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : June 5, 2026 at 9:21 am