कांग्रेसको सक्रिय सदस्यता अद्यावधिक अवधि जेठ २८ सम्म थपियो
२१ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको सक्रिय सदस्यता अद्यावधिक गर्ने अवधि अन्तिम पटकका लागि थप गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन ललितपुरमा बिहीबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सक्रिय सदस्यता अद्यावधिक गर्ने म्याद २०८३ साल जेठ २८ गते राति १२ बजेसम्म कायम गर्ने निर्णय गरेको हो।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभर सक्रिय सदस्यता अद्यावधिक कार्य उत्साहजनक रूपमा अघि बढिरहेको भए पनि विभिन्न तहबाट थप समय आवश्यक रहेको जानकारी प्राप्त भएकाले म्याद थप्ने निर्णय गरेको जनाएको छ।
कांग्रेसले यसअघि तोकिएको समयभित्र सदस्यता नवीकरण गर्न नसकेका सदस्यहरूलाई थप गरिएको अवधिभित्र अनिवार्य रूपमा आफ्नो सक्रिय सदस्यता अद्यावधिक गर्न आग्रह गरेको छ।
पार्टीका कामवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा यो म्याद अन्तिम पटकका लागि थप गरिएको उल्लेख गरिएको छ। कांग्रेसले सम्बन्धित सबै सदस्यलाई तोकिएको समयसीमाभित्र सदस्यता अद्यावधिक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति : June 4, 2026 at 11:31 pm









