कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित
२० जेठ, काठमाडौं । कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो ।
बैठकको आजको कार्यसूचीमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेलगायतका कार्यसूची रहेको थियो ।
यसैगरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको थियो ।
वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो ।
अध्यक्ष दाहालले विपक्षी दलका सांसदलाई निर्धारित कार्यसूची अगाडि बढाउन पटकपटक आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक स्थागित भएको छ । सभाको अर्को बैठक यही जेठ २६ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्ने छ ।
प्रकाशित मिति : June 3, 2026 at 2:52 pm









