उजुरी परेका स्थानका अधिवेशन स्थगित गर्न रास्वपाको निर्देशन
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगले बागमती र मधेशका विभिन्न पालिकाको अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले विवाद उत्पन्न भई उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरेको हो ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरेको पत्रअनुसार बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला अन्तर्गतका अन्य विवादित स्थानीय तह तथा वडाहरू छन् ।
मधेस प्रदेशमा सप्तरी र सिराहा जिल्लाका विवादित स्थानीय तह र वडाहरू छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मतिहानी नगरपालिका, मनरा शिसवा नगरपालिका, पिपरा गाउँपालिका र अन्य विवादित क्षेत्रहरू छन् ।
धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतमा अधिवेशन रोक्न निर्देशन दिइएको छ । सर्लाहीमा हरिपूर्वा नगरपालिकाको अधिवेशन प्रक्रिया स्थगित गर्न भनिएको छ । विवाद समाधान गरी पुन: अधिवेशनको प्रक्रिया सुरु हुने उनले जानकारी गराए ।

प्रकाशित मिति : June 2, 2026 at 5:03 pm









