दरबार हत्याकाण्डको छानविन गर्न ज्ञानेन्द्र शाहीको माग
१९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दरबार हत्याकण्डको छानविन गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टटास लेख्दै दरबार हत्याकाण्ड भएको समयमा देशका गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । उनले राजपरिवारले न्याय नपाएको देशमा गरिब, दुःखीले के न्याय पाउँथे र ? भनेर प्रश्न समेत गरेका छन् ।
पूर्वराजपरिवारप्रति श्रद्धान्जली अर्पण गर्दै शाहीले लेखेका छन्, ‘हामी न्याय खोजिरहेका छौँ । राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुःखी र निमुखा जनताले न्याय पाउँथे र ?’ हत्याकाण्ड कसले गर्यो भन्ने प्रश्न आज पनि धेरै नेपालीको मनमा जिवित रहेको बताउँदै उनले साे घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन गर्नुपर्ने बताएका छन्।
शाहीले लेखेका छन्, ‘नेपाल सरकारलाई मेरो विनम्र अपिल छ । दरबार हत्याकाण्ड भएको समयमा देशका गृहमन्त्री रहनुभएका व्यक्ति आज राष्ट्रपतिको जिम्मेवारीमा हुनुहुन्छ । त्यस समयको परिस्थितिबारे उहाँसँग महत्त्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्ने भएकाले सत्यतथ्य पत्ता लगाउने उद्देश्यले उहाँको बयान लिने, आवश्यक जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोग गर्न अनुरोध गर्ने विषयमा सम्बन्धित निकायले विचार गरोस् ।’

प्रकाशित मिति : June 2, 2026 at 12:28 pm









