१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने विपक्षी दलहरूको निष्कर्ष

१८ जेठ, काठमाडौं ।  विपक्षी दलको बैठकले विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेको छ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले प्रधानमन्त्रीले सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेको नेकपाका प्रमुख युवराज दुलालले जानकारी दिए ।  प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्‌बाटै माफी माग्नुपर्ने माग पनि राखेका छन् । यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने निष्कर्ष निकालेको उनको भनाइ छ ।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली, श्रम संस्कृति पार्टीका आरेन राई, ध्रुवराज राई, एमाले संसदीय दलका उपनेता पद्‍मा अर्याल, एमालेका प्रमुख सचेतक ऐन महर, कांग्रेसकी प्रमुख सचेतक बासना थापा, कांग्रेसका सचेतक निष्कल राईलगायतका नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : June 1, 2026 at 1:49 pm