बालेनको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति, माफी माग्न आग्रह
१८ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिलाई गलत, गम्भीर र राष्ट्रविरोधी रहेकाे बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिनु अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्रविरोधी अभिव्यक्ति भएको बताएका हुन् ।
खनालले प्रधानमन्त्रीकाे उक्त अभिव्यक्तिले नेपाली जनताको राष्ट्रिय भावनामाथि चोट पुर्याएको बताएका छन्। उनले यस्तो दाबी कुन तथ्य र प्रमाणका आधारमा गरिएको हो भनेर प्रश्न समेत उठाएका छन्।
उनले लेखेका छन्, ‘हामी नेपाली जनता युगौँ देखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौँ र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ । त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्रविरोधी कार्य हो ।’ खनालले भनेका छन्, ‘उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो ?’
खनालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको बताएका छन् । राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने उनको तर्क छ ।
खनालले प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन्। साथै, उनले देशभक्त नागरिकलाई उक्त अभिव्यक्तिको विरोध गर्न आह्वान पनि गरेका छन्।

प्रकाशित मिति : June 1, 2026 at 10:57 am









