निजी क्षेत्रलाई उत्साहित बनाउने बजेट, अर्थतन्त्र पुनरुत्थानको आधारः सिबिफिन
१७ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसले अर्थतन्त्र पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा लगानी प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने जनाएको छ।
सिबिफिनले आइतबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय सुस्त बनेको आर्थिक गतिविधि, निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्तामा देखिएको अन्योल तथा बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाजस्ता चुनौतीबीच बजेटले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने आशा जगाएको उल्लेख गरेको छ।
सिबिफिनका अनुसार कर प्रणालीमा गरिएको सुधार, उद्योग–व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, पूर्वाधार विकासमा प्राथमिकता तथा ऊर्जा क्षेत्रमा जोड दिइएका कार्यक्रमहरू सकारात्मक छन्। साथै बैंकिङ क्षेत्रको प्रमुख चुनौतीका रूपमा रहेको खराब कर्जा तथा गैर–बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि विशेष अधिकार सम्पन्न राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारी घोषणा दूरदर्शी र समयसापेक्ष कदम भएको परिसंघको ठहर छ।
विज्ञप्तिमा बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गरिएको छ। व्यक्तिगत आयकर छुटको सीमा वृद्धि, करका दर पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालनका व्यवस्थाले समग्र आर्थिक गतिविधिमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।
सिबिफिनले बजेटले आन्तरिक तथा बाह्य लगानी विस्तार, रोजगारी सिर्जना, उत्पादन वृद्धि र निजी क्षेत्रको पुनर्जागरणमार्फत अर्थतन्त्रमा उच्च आत्मविश्वास कायम गर्न महत्वपूर्ण आधार तयार गर्ने जनाएको छ।
परिसंघले बजेटमा समेटिएका जनमुखी तथा विकासमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व तथा दिगो आर्थिक विकासका लागि सरकारसँग नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ।
प्रकाशित मिति : May 31, 2026 at 12:32 pm









