१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

अनेरास्ववियुको इन्चार्जमा ‘पुनर्जागरण पक्षधर’ नेता चयन

१७ जेठ, काठमाडौँ । नेकपा (एमाले) निकट जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नयाँ नेतृत्व र वैचारिक कार्यदिशाको रूपमा ‘पुनर्जागरण पक्षधर’ इन्चार्ज पाएको छ ।

एमालेको केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व उपाध्यक्ष रश्मी आचार्यलाई एमालेको हालै सम्पन्न चौथो सचिवालय बैठकले संगठनको कामलाई थप ऊर्जावान् र वैचारिक रूपमा स्पष्ट बनाउन भन्दै नयाँ इन्चार्ज तोकेको हो ।

संगठनभित्र र बाहिर ‘पुनर्जागरण पक्षधर’ अर्थात् शैक्षिक तथा राजनीतिक सुधारका पक्षधर, वैचारिक नेताको छवि बनाएका र कुनै विवादमा नमुछिएका रश्मी आचार्यलाई इन्चार्जको जिम्मेवारी दिएपछि अनेरास्ववियुका कार्यकर्ताहरूमा नयाँ उत्साह तथा खुशीयाली छाएको छ, एक पदाधिकारीले भने ।

गत बैशाख २८ गते सामाजिक सञ्जालमा “जनताको बहुदलीय जनावाद (जबज) का तीन प मध्येका पहलकदमी पार्टी पुनर्जागरण पहिलो पाईला हो । शिघ्र पहलकदमी लिऔ समयले पर्खदैन ”। भन्दै पार्टी पूनर्जागरण र पुर्नगठनको पक्षमा अर्थपूर्ण रुपमा स्टाटस लेखेका थिए ।

अनेरास्ववियुका एक पदाधिकारीका अनुसार, “यो चयनले संगठनमा नयाँ र रचनात्मक सोच भएका युवाहरूलाई अगाडि बढ्न ऊर्जा मिल्नेछ । साथै मातृ पार्टीलाई पूनर्जागरण मार्फत पुर्नगठनका गर्दै लाने र शैक्षिक आन्दोलनलाई केवल राजनीतिक दाउपेच मात्र नबनाई बौद्धिक र व्यावहारिक पुनर्जागरणको दिशामा लैजान यो नेतृत्व कोसेढुङ्गा सावित हुनेछ ।”

यो नयाँ जिम्मेवारीसँगै अनेरास्ववियुले आगामी दिनमा शैक्षिक विकृति विरुद्ध कस्तो कदम चाल्छ र आफ्नो ’पुनर्जागरण’को नारालाई कसरी व्यवहारमा उतार्छ भन्ने कुरालाई एमाले वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : May 30, 2026 at 11:28 am