१० महिनामा पोलिसी सरेण्डरमार्फत बाहिरियो ११ अर्ब ६० करोड
१४ जेठ, काठमाडौं। जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत ११ अर्ब बढी रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको हो ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा भने ५.४० प्रतिशत कम हो । गत आवको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बाहिरिएको थियाे ।
गत आवको वैशाख मसान्तसम्म बीमकहरुबाट कुल ८८ हजार ६३५ वटा पोलिसी त्याग भएकोमा चालु आवको सोही अवधिसम्म ७६ हजार ४७७ वटा मात्रै पोलिसी सरेण्डर भएका छन् ।
सो अवधिसम्म जीवन बीमा कम्पनीहरुमा व्यतित भएको बीमालेखको रकम ३९ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आवको तुलनामा ६.८३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यस्तो रकम ३६ अर्ब ८६ करोड १० लाख रुपैयाँ रहेको थियो ।
नवीकरण नभएको पोलिसी रकम बढेपनि संख्या भने सामान्य घटेको देखिएको छ । वैशाखसम्म नवीकरण नभएको पोलिसी संख्या १२ लाख २४ हजार ४६५ कायम भएको छ । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ५४ हजार ४७८ रहेको थियो ।
प्रकाशित मिति : May 28, 2026 at 5:21 pm









