नुवाकोटकी एडिलेडमा अध्ययनरत सुष्मा कोइरालाको निधन: पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोगको अपिल
एडिलेड । अष्ट्रेलियामा विद्यार्थी भिसामा रहेकी एक नेपाली छात्रा सुष्मा कोइरालाको गत मङ्गलबार बिहान निधन भएको छ । आफ्नो र नेपालमा रहेको परिवारको सुन्दर भविष्यको सपना बोकेर अष्ट्रेलिया आएकी सुष्माको यो असामयिक र अप्रत्याशित निधनले परिवार तथा अष्ट्रेलियास्थित नेपाली समुदायलाई स्तब्ध र भावविह्वल बनाएको छ ।
अत्यन्तै दयालु, सहयोगी, मिहिनेती र मिलनसार स्वभावकी सुष्माको निधनले परिवारमा कहिल्यै पुरिन नसक्ने गहिरो चोट र रिक्तता पैदा गरिदिएको छ ।
अष्ट्रेलियाको कानुनी प्रक्रिया पुरा गरेर एनआरएनए साउथ अष्ट्रेलिया समेतको सहयोगमा अन्तिम संस्कारका लागि शव नेपाल पठाइने तयारी गरिएको छ ।
मातृभूमि र आफ्नो घरपरिवारभन्दा टाढा परदेशमा भएको यो त्रासदीपूर्ण घटनाले पीडित परिवारलाई ठुलो मानसिक प्रेसर पारेको छ । मृतक सुष्माका श्रीमान् विक्रम अर्याल र नेपालमा रहेका उनका आमाबुबाको अन्तिम इच्छा सुष्माको पार्थिव शरीरलाई नेपाल ल्याएर आफ्नै संस्कार र धार्मिक परम्परा अनुसार अन्तिम संस्कार (अन्त्येष्टि) गर्ने रहेको छ ।
आफ्ना आमाबुबा र आफन्तजनसँग अन्तिम बिदाइका लागि शव नेपाल फर्काउनका लागि उनका देवर सतिश खड्काले श्रीमान् विक्रम र शोकाकुल परिवारका तर्फबाट सहयोगको अपिल गर्दै आर्थिक सङ्कलन अभियान सुरु गर्नुभएको छ ।
सहयोगका लागि भावुक अपिल गर्दै देवर सतिश खड्काले भन्नु भएको छ – ` एउटा बन्दै गरेको परिवारका लागि यो अपूरणीय क्षति हो । यस दुखद समयमा सुष्मालाई सम्मानका साथ स्वदेश फर्काउन र पीडित परिवारको आर्थिक भार कम गर्न म सम्पूर्ण नेपाली समुदायसँग विनम्र अनुरोध गर्दछु,” खड्काले भन्नुभएको छ, “तपाईंले गर्ने सानोभन्दा सानो सहयोग वा दानले पनि यो भावविह्वल परिवारलाई ठुलो राहत मिल्नेछ ।”
यदि आर्थिक सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि यस दुखद घडीमा यस आर्थिक सहयोगको सूचनालाई धेरैभन्दा धेरै नेपालीमाझ सेयर गरिदिन र दिवंगत आत्माको चिरशान्तिका लागि प्रार्थना गरिदिन समेत परिवारले अपिल गरेको छ । शोकाकुल परिवारले यस कठिन समयमा सहानुभूति, करुणा र उदारता देखाउने सम्पूर्ण सहयोगी मनहरूप्रति हृदयदेखि नै आभार प्रकट गरेको छ । दिवंगत सुष्मा कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली !
https://gofund.me/3b614fa1a
प्रकाशित मिति : May 28, 2026 at 12:10 pm









