रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि विभिन्न चरणका कामहरूको समयसीमा निर्धारण गरेको हो ।
केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्रअनुसार ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
जसअनुसार आगामी जेठ १५ गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ १० गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ।
कार्यतालिकाअनुसार स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेभित्र सङ्कलन गरिनेछ भने महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्ने अन्तिम समय जेठ २५ गतेसम्म तोकिएको छ । यस्तै, जिल्ला सभापतिहरूले जेठ मसान्तभित्र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
महाधिवेशनमा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ । जेठ ७ देखि असार ५ गतेसम्म इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफल र तयारीका लागि समय छुट्याइएको छ ।

प्रकाशित मिति : May 24, 2026 at 3:56 pm









