अपाङ्गमैत्री सेवा दिन बैंकहरूलाई राष्ट्र बैंककाे निर्देशन
१० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले अपाङ्गमैत्री बैंकिङ सेवालाई जोड दिएको छ । केन्द्रीय बैंकले ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले ग्राहक सेवालाई पनि थप समावेशी र अपाङ्गतामैत्री बनाएको छ । नयाँ व्यवस्था अनुसार एटीएम लाउन्जहरूमा अब अनिवार्य रूपमा ब्रेल साइन, कन्ट्रोल बटन र अडियो सपोर्ट सहितको कम्तीमा एउटा अपाङ्गतामैत्री एटीएम राख्नुपर्नेछ । साथै, दृष्टिविहीन ग्राहकका लागि ट्याक्टाइल फिचर्स (छोएर थाहा पाउन सकिने) भएका डेबिट र क्रेडिट कार्ड जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका र साक्षर नभएका व्यक्तिहरूका लागि बैंकहरूले विशेष काउन्टर तोकेर सेवा दिनुपर्नेछ । बैंकका वेबसाइट र मोबाइल एपहरू दृष्टिविहीनले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकहरूले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ । यस प्रकारको शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।
यदि कुनै अपाङ्गता भएको व्यक्तिले आफू एटीएम वा मोबाइल बैंकिङ चलाउन सक्षम छु भनी स्वघोषणा गरेमा बैंकले त्यस्तो सेवा रोक्न नपाउने व्यवस्था गरेको छ ।
प्रकाशित मिति : May 24, 2026 at 12:07 pm









