बैंकका कर्मचारीले ८ घण्टा भन्दा बढी काम गर्दा अतिरिक्त पारिश्रमिक पाउने
९ जेठ, काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा काम गर्ने कर्मचारीहरूले अब ८ घण्टा भन्दा बढी काम गर्दा अतिरिक्त पारिश्रमिक पाउने भएका छन । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि ‘एकीकृत निर्देशन’ परिमार्जन गर्दै अबदेखि कर्मचारीले कार्यालय समयभन्दा बढी काम गर्नुपर्दा अतिरिक्त पारिश्रमिक दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बैंकका कर्मचारीले उच्च व्यवस्थापनको अपमानजनक व्यवहारका कारण आत्महत्या गर्नेक्रम बढेपछि यस्तो निर्देशन जारी गरेको हो । अब बैंकहरूले कुनै विशेष परिस्थितिमा कर्मचारीलाई कार्यालय समयभन्दा बढी समय खटाउनुपर्ने भएमा अनिवार्य रूपमा प्रचलित कानुनी व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्नेछ ।
निर्देशनमा बैंकहरूलाई कर्मचारीमाथि जबरजस्ती काम गराउन पनि रोक लगाइएको छ । निर्देशनमा स्पष्ट भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न पाइने छैन।’

प्रकाशित मिति : May 23, 2026 at 9:48 am







