खुद्रे आयोजना बजेटमा नराख्न पूर्व अर्थमन्त्रीहरूको सुझाव, कसले के भने ?
७ जेठ, काठमाडाैं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी आगामी बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिएका छन्। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा वाग्लेले पूर्वअर्थमन्त्री तथा अर्थविद्हरूसँग सुझाव मागेका हुन्।
भेटका क्रममा मन्त्री डा वाग्लेले सुशासनको जगमा टेकेर आमनेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिएका छन् । आगामी आवको बजेट निर्माणमा पूर्वअर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुशरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उनले बताए ।
अर्थमन्त्री डा वाग्लेले देश र जनताको हितका लागि सबैले आ–आफ्नो समयअनुसार अर्थ मन्त्रालयको नेतृत्व गरेको उल्लेख गर्दै परिस्थिति अनुकूल वा प्रतिकूल भए पनि उद्देश्य समान रहेको बताए । उनले विगतका उपलब्धि र कमजोरी समीक्षा गर्दै सकारात्मक अभ्यासलाई निरन्तरता दिइने धारणा राखे ।
उनले भने, “हामी तपाईंहरूले गर्नुभएको राम्रो कामको अनुशरण गर्दै अघि बढ्छौँ । हाम्रा अग्रजले देखाएको बाटोमै हिँड्ने हो । यही व्यवस्था र यही राजनीतिक उपलब्धिबाट समृद्धि हासिल गर्ने हो ।”
छलफलमा सहभागी पूर्वअर्थमन्त्रीहरुले आगामी बजेटका लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन् । पूर्वअर्थसचिव रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारीविहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो । उहाँले विद्युत् क्षेत्रमा मूल्य अभिवृद्धि कर नलगाउन आग्रह गरे ।
पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीतिनिर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढाउन सुझाव दिए । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अत्यधिक महत्वाकाङ्क्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धिदर १० देखि १२ प्रतिशतको सीमाभित्र राख्नुपर्ने बताए । उनले करिब रु २० खर्बको बजेट ल्याउन तथा वित्तीय क्षेत्र सुधार र निजी क्षेत्रको मनोबल बढाउनुपर्ने धारणा व्यक्त गरे । उनले राष्ट्रिय गौरवका आयोजनामा देखिएको अव्यवस्थित प्रवृत्ति अन्त्य गर्नुपर्ने, कृषिमा अनुदानलाई प्रभावकारी बनाउनुपर्ने तथा वित्तीय क्षेत्र सुधारमा नेपाल राष्ट्र बैंकसँग समन्वय आवश्यक रहेको बताए ।
पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिँदै साना, मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए । उनले कृषिउपजको भारतीय बजार खोज्न आर्थिक संवाद आवश्यक रहेको धारणा राखे ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको सङ्ख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिए । उनले भूमि प्रयोगसम्बन्धी कानुन सुधार आवश्यक रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विकासमा विशेष योजना ल्याउनुपर्ने बताए ।
पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमा सीमित गर्नुपर्ने र सरकारी उद्योग तथा सम्पत्तिलाई ‘लिज’ मोडलमा सञ्चालन गर्न सकिने धारणा व्यक्त गरे । उनले वैदेशिक ऋण घटाउन र ठूला ठेक्कामा हुने सम्भावित मिलेमतो रोक्नुपर्ने सुझाव दिए ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढाउनुपर्ने धारणा राखे । उनले भारतीय मध्यम वर्गलाई आकर्षित गर्न ‘हिल स्टेशन’ तथा विवाह गन्तव्य विकास गर्नुपर्ने सुझाव दिए ।
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले खर्चको वास्तविक आँकलनका आधारमा बजेट निर्माण गर्नुपर्ने बताउँदै खानी तथा प्राकृतिक स्रोतको उपयोगका विषयमा साहसी निर्णय आवश्यक रहेको धारणा व्यक्त गरे । उनले बूढीगण्डकीजस्ता ठूला परियोजनालाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिए ।
पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताए । उनले खानी उत्खनन, औषधि उद्योग, रासायनिक मल उद्योग तथा सीपयुक्त जनशक्ति उत्पादनमा लगानी बढाउनुपर्ने धारणा राखे ।
छलफलमा सहभागी अधिकांश पूर्वअर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन, निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न, खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा साझा धारणा व्यक्त गरेका थिए ।
कसले के भने ?
रामेश्वर खनाल
१. उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह ।
२. तयारी नभएका खुद्रा र टुक्रे आयोजनामा बजेट नछरौं ।
३. विद्युतमा मूअ कर नलगाउनुस् ।
शंकर कोइराला
१. रामेश्वर खनाल लगायतका पुराना आर्थिक प्रतिवेदनहरू अनुसरण गरौं ।
२. सही मान्छे सही ठाउँमा सही समयमा आउनुभएको छ । सफल हुनुस् ।
३. विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई खुला गरौं ।
४. आयोजना निर्माणका लागि वनको अप्ठ्यारो फुकुवा गरौं ।
५. नयाँ उद्योग र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रयास गरौं ।
६. हेजिङ पोलिसी अगाडि बढाऔं । जनार्दन शर्माको पालामा अघि बढेको कार्य अघि बढाऔं ।
७. पुराना उद्योग जगाउने कुरा कति व्यावहारिक छ, सोचौँ । सरकारले नयाँ कपडा उद्योग चलाउनुपर्छ ।
डा. युवराज खतिवडा
१. अर्थमन्त्रीहरू बजेटको बाउन्ड्रीमा बस्न खोज्नुहुन्छ । तर, राजनीतिले छक्का हान्न खोज्छ । तपाईं बाउन्ड्रीमा बस्नुस् ।
२. राजस्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत हो । १५ प्रतिशत नराख्नुस् ।
३. यो वर्ष १२ माथि पुगे पनि १३ अर्ब राजस्व पुग्दैन ।
४. बजेट साढे २० खर्बको बनाउनुहोला । १६ र १७ खर्ब खर्च होला । तर, ठूलो महत्त्वाकाङ्क्षी राजस्व लक्ष्य नबनाउनुस् ।
५. आयकरको सीमा तल्लो स्ल्याब नचलाउनुस् ।
६. अन्तःशुल्क जबर्जस्ती लगाइरहेका छौं । कम गर्दै जाऔं ।
७. मूअक दुई दरमा नजानुहोला ।
८. संघको सरकारले गर्ने विकासमा उपभोक्ता समितिमार्फत गरिने कार्य रोकौं ।
१०. लक्ष्यका केही कुरा पूरा गर्न सकिन्छ भने प्रयास गरौं ।
११. स्वास्थ्य बीमामा थैली नबढाई जाऔं ।
१२. कृषिमा अनुदान दिन जरुरी छ । अर्थतन्त्रमा कृषिमा मधेसको योगदान घटेको छ । यसमा ध्यान दिन जरुरी छ ।
१३. राष्ट्रिय गौरवका आयोजनामा हामीले नै मनपरी गर्यौं । तपाईंले यो कुरा भंग गर्नुहोस् । नयाँ सिराबाट अघि बढ्नुहोस् ।
१४. संस्थानहरूलाई एकीकृत तरिकाले विकासको मोडलमा लैजाऔं ।
१५. एलडीसी ग्र्याजुएसनमा खुट्टा नकमाउनुस् ।
१६. मुलुकलाई ग्रे-लिस्टबाट निकाल्न कूटनीतिक पहल गर्नुस् । दुई चार जना मान्छे थुनेर मात्रै हुँदैन ।
१७. वित्तीय क्षेत्र सुधार गर्नुस् । राष्ट्र बैंकसँग समन्वय होस् ।
१८. निजी क्षेत्रको मनोबल बढाउनुस् ।
१९. तब मात्रै ७ प्रतिशत आर्थिक वृद्धि सम्भव छ ।
डा. प्रकाशचन्द्र लोहनी
१. सरकार र निजी क्षेत्र मिलेर जाने वातावरण बनाऔं ।
२. साना, मझौला र ठूला औद्योगिक र निजी क्षेत्रलाई कसरी बजेटले सम्बोधन गर्ला । मेरो सल्लाह छ— सबैलाई प्रोत्साहनको नीति लिऔं ।
३. काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिऔं ।
४. कृषिलाई अनुदानबाट प्रोत्साहन जरुरी छ ।
५. स्थिर सरकार चलाउने, कर्मचारीलाई प्रोत्साहन र दण्डको घोषणा पत्र कार्यान्वयन गर्नुस् ।
६. निजी क्षेत्रमा गएको लगानीको पारदर्शिता बुझ्नुपर्छ । लगानी अनुसारको प्रतिफल मिलिरहेको छैन ।
७. कृषि उपजलाई भारतीय बजार खोज्नुस् । आर्थिक संवाद गर्नुस् ।
सुरेन्द्र पाण्डे
१. एलएमबीआईएस मन्त्रीको जस्तो भएको छ । विषयगत मन्त्रालयको मन्त्रीको जस्तो भयो ।
२. ठूला आयोजना धेरै भए । घटाउनुस् ।
३. मध्य पहाडी राजमार्ग सांसदले घर जाने बाटो बनाए । अब पहाड छेडेर सुरुङ बनाऔं ।
४. राष्ट्रिय गौरवको आयोजनालाई ४/५ वटा मात्रै बनाऔं ।
५. जमिन प्रयोगसम्बन्धी कानुन सुधार नगर्ने हो भने केही गरी पनि केही गर्न सकिन्न । जग्गालाई कृषि जमिन, उद्योग जमिन, आवास जमिन र व्यवसाय जमिन बनाऔं ।
६. पर्यटनको क्षेत्रमा गहन काम गरौं । भारतीय पर्यटकलाई आकर्षित गर्ने योजना ल्याऔं ।
७. जीर्ण सरकारी उद्योगहरू चलाउन स्पष्ट होऔं । कि सरकारी कि निजी, तर सरकारले चलाउन सक्ने अवस्था अहिले देख्दिनँ । यो मामिलामा मैले सबै पक्षलाई असल देखिरहेको छैन ।
८. सरकारी कार्यालय र कर्मचारीलाई वस्तु खरिद गर्ने कार्यमा रोक लगाउनुपर्छ ।
९. कर्मचारीको संख्यालाई २० प्रतिशतले कटौती गर्न सकिन्छ कि सकिन्न?
डा. प्रकाश शरण महत
१. सामाजिक सुरक्षा भत्ता हुनेखानेलाई नदिऔं । यो निर्णय तपाईंले गर्न सक्नुहुन्छ । तपाईंलाई अवसर छ, आँट गर्नुस् ।
२. नचाहिने संरचना हटाउन आँट गर्नुस् ।
३. नेपाल एयरलाइन्सलाई मैले निजीकरण मोडलमा चलाउन सकिनँ । गर्छु भनेको गर्न सकिनँ, तर तपाईं गरिहाल्नुस् । नत्र यो निकै कठिन हुन्छ । सरकारले धान्न सक्दैन ।
४. सरकारी उद्योग र जमिनलाई लिजमा दिनुस् । निजी क्षेत्रले चलाउन नसकेको अवस्थामा उसले थपेको बाहेक सबै सरकारको हुने गरी लिजमा दिऔं ।
५. वैदेशिक ऋण अति आवश्यकबाहेकमा घटाऔं ।
६. पहाडमा ठूलो राजमार्ग बनाउने कुरालाई प्रोत्साहन नगर्नुहोस् । यो सरकारको र जनताको भन्दा पनि ठेकदारको स्वार्थ देखियो ।
७. पाँच अर्बभन्दा माथिको ठेक्कामा केही सीमितको मिलेमतो देखिन्छ । यसलाई रोक्नुस् । ठूला ठेक्का टुक्र्याएर मात्रै दिनुस् ।
८. उत्पादन देखाएर मात्रै अनुदान ग्यारेन्टी गर्ने नीति लिऔं ।
९. आयातित कृषि उपजमा भ्याट लगाऔं ।
१०. पर्यटन क्षेत्रमा १२ महिना नै चल्ने सडक बनाऔं ।
वर्षमान पुन
१. डा. वाग्ले बजेट बनाउन अप्ठ्यारो अवस्थामा हुनुहुन्छ ।
२. विगतमा हामीले राम्रो पूर्वाधार बनाएछौं । तर, औद्योगिक कोरिडोर बाहेक अन्यमा गरिएको लगानीको प्रतिफल कमजोर देखिन्छ ।
३. पूर्व-पश्चिममा हुलाकीदेखि मध्य पहाडी र मदन भण्डारी राजमार्ग बने तर बजार विकास हुन सकेन । प्रतिफल कमजोर भयो ।
४. पर्यटन पूर्वाधारमा लगानी गरौं ।
५. भारतमा बढेको मध्यम वर्गलाई नेपाल आउने र रमाउने गरी हिलस्टेसन बनाऔं । त्यसलाई विवाह गन्तव्यको रूपमा विकास गरौं । ५०/६० वटा पूर्वाधार बनाऔं ।
६. संघीयतामा आर्थिक गतिविधि बढेको देखिन थालेको छ । अहिले प्रदेश राजधानीमा खुलेका पाँचतारे होटलले यही संकेत गर्छ ।
७. ग्रामीण कृषि उपजलाई बजारमा ल्याउने वातावरण बनाउनुपर्यो ।
८. सार्वजनिक संस्थान चलाउन हामीले जनक शिक्षाको राम्रो अभ्यास गर्यौं । डुबेको संस्था चल्यो, अहिले नाफामा छ । तीन वटा सरकारी बैंकलाई पनि हामीले नाफामा चलायौं । नेपाल वायुसेवा निगम बलियो हुनुपर्छ । तर, कसरी चलाउने विचार गरौं ।
९. जनताको अपेक्षा अत्यन्तै धेरै छ । कसरी सम्बोधन गर्नुहुन्छ, यो मैले निकै जटिल देखेको छु ।
१०. पालिका केन्द्रसम्म पुग्ने गरी १२ महिना नै चलाउन सकिने बाटो बनाऔं ।
विष्णुप्रसाद पौडेल
१. बलियो जनमत र सरकार अनि बुझेको अर्थमन्त्री हुनुहुन्छ, यो सकारात्मक कुरा छ ।
२. वाचापत्रलाई पूर्ण परिपालन गर्न सकिने अवस्था अहिले छ । त्यसैअनुसार बजेट बनाउनुस् ।
३. रिफर्मका लागि यहाँको कमिटमेन्ट हामीले सुनेका छौं । केही सहयोग हामीबाट चाहिए म सधैँ तयार छु ।
४. स्रोतको अनुमानमा भन्दा पनि खर्चको अनुमान गरेर बजेट बनाउने हाम्रो परम्परा छ । यस्तो कमजोरीलाई सच्याउनुपर्छ ।
५. स्थानीय र प्रदेश निर्वाचनलाई चिन्ता गरेर अहिले बजेट बनाउनुपर्दैन । संघको चुनाव जित्नेले स्थानीय चुनाव जित्छ ।
६. खानी बेचौँ, ढुंगागिट्टी बेचौँ भन्दा मैले चुटाइ खानुपर्यो । चुरे बेच्न खोज्यो भनेर लखेट्ने काम भयो । खानी विभागले पहिचान गरेको खानी उत्खनन गरेर बेच्न हुन्छ । आँट गरौं ।
७. गेम चेन्जर परियोजना गीत गाएर मात्रै नबसौँ । काम थालौँ । जस्तै बुढीगण्डकी लगायत ।
जनार्दन शर्मा
१. सल्लाह दिन रमाइलो तर कार्यान्वयन गाह्रो ।
२. बजेट राजनीतिक संकल्प पूरा गर्ने डकुमेन्ट हो ।
३. हर्मुज घाँटीमा विश्व अर्थतन्त्र अड्किएको छ ।
४. कार्यकालको चिन्ता तपाईंलाई छैन ।
५. आफ्नै मन्त्री र नेताबाट धाकधम्की खेप्नुपर्ने अवस्था तपाईंलाई छैन ।
६. योजना छनोट र राजस्वमा लोकप्रियतायुक्त निर्णय गर्ने तपाईंले जोखिम लिने हो ।
७. संघीयता कार्यान्वयन गर्न तपाईंले बजेट ल्याउनुपर्छ ।
८. निर्मम भएर सरकारी खर्च कटौती गरौं ।
९. हाइ अल्टिच्युड खेल पूर्वाधारमा लगानी गरौं ।
१०. फलाम, तामा जस्तो खनिज उत्खननमा लगानी गरौं ।
११. ताजा तरकारी नेपालकै खाऔं भन्दा मलाई अप्ठ्यारो पर्यो । तर, यो जरुरी छ ।
१२. अरू जे-जे भए पनि औषधि उद्योग चाहिँ सरकारले नै चलाउनुपर्छ ।
१३. रासायनिक मल कारखाना खोल्न स्वदेशी कच्चा पदार्थबाट पनि सम्भावना छ । मेरो पालाको अध्ययन पल्टाउँदा हुन्छ ।
१४. निजी क्षेत्रको आत्मविश्वास र लगानी सुरक्षामा जोड दिनुपर्नेछ ।
१५. पढ्दै कमाउँदै, वा १२ कक्षा पास गर्दा सीपसहितको जनशक्ति देशले पाउने गरी बजेट आओस् ।
१६. सीमा क्षेत्रको बजार हराभरा बनाउनुपर्छ ।
१७. जुम्ला पुग्न टनेल खन्न सके यसले कर्णालीको समृद्धि ल्याउँछ ।
प्रकाशित मिति : May 21, 2026 at 5:58 pm









