अर्जुननरसिंह केसीको प्रश्नः प्रधानमन्त्री यो संसदको अंग हो कि कुनै टापुको सम्राट ?
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहने गरेकोमा प्रश्न उठाएका हुन् ।
मनसुन सुरू हुन लागेको सन्दर्भमा चर्चा गर्दै केसीले गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शाह संसदको अंग हो कि होइन भनेर सभामुखलाई सोधेका हुन्। केसीले भने, ‘प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ। उहाँ यो संसदको अंग हो कि होइन सभामुख जी? मैले चाहिँ अहिले थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्य वा टापुको सम्राट हो कि, यो संसदको अभिन्न अंग हो?’
बैठकमा बोल्दै उनले मनसुन सुरु हुन लागेकाले विपद् जोखिमको पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले जति बेला समस्या पर्यो, त्यति बेला हतारिएर काम गर्ने चलन भएकाले वर्तमान सरकारलाई अहिलेदेखि तयारी गर्न आग्रह गरे ।
सांसद केसीले विपद् आउनुअघि पूर्व सूचना प्रणाली व्यवस्थापनका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : May 21, 2026 at 2:26 pm









