४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

आफूमाथिको ‘कु’ टार्न केपीको विद्या कार्ड, एमालेको सदस्यता दिने निर्णय

४ जेठ, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथिको ‘कु’ टार्न पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको नयाँ कार्ड प्रयोग गर्नुभएको छ । उहाँले आफूमाथिको सम्भावित ‘कु’ टार्न दुई दिन बैठक स्थगित गरेर विद्या र्कार्डको प्रयोग गर्नुभएको हो । ओलीले भण्डारीको पार्टी सदस्यतामा ‘कु’ गर्ने आफ्नो निर्णय फिर्ता लिँदै सदस्यता दिने निर्णय गर्नुभएको छ ।

एमालेको विधान अनुसार नविकरण भैसकेको भण्डारीको सदस्यता ‘कु’ गर्दै ओलीले पार्टीको लेटरप्याड प्रोयग गरेर गणतन्त्र र संविधान खतरामा पर्ने भन्दै दर्जनौँ असान्दर्भिक तर्कहरू राख्नुभएको थियो । सोमबारको निर्णयसँगै ती तर्कहरू कुतर्क थिए भन्ने कुराको प्रमाणित एमालेको सचिवालयले नै गरेको छ ।

सोमवार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । यसअघि सदस्यता ‘कु’ भएको निर्णय तत्कालीन प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको थियो । यसअघि नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले नै सदस्यता नदिने निर्णय गरेको थियो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा महासचिव शंकर पोखरेलसहितका नेताहरूले ओली माथि नै ‘कु’ गर्ने पूर्वसूचना पाएर बैठक स्थगित गर्नुभएको ओलीले मदन आश्रित स्मृति दिवसको कार्णक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाएर सोमबारको बैठकबाट आफ्नो गल्ती सच्याउनुभएको हो ।

ओलीको आदेशमा केन्द्रीय कार्यालयले संविधानको अपव्याख्या गरेर पार्टीको लेटरप्याडमा विद्याका लागि एमालेको ढोका बन्द भएको घोषणा गरेको थियो । त्यसको केही दिनमै पार्टी अध्यक्ष ओलीले सार्वजनिक सम्बोधनमै आफ्नो पद असुरक्षित भएपछि विद्याको सक्रियतामा रोक लगाउन खोजिएको बताउनुभएको थियो ।

पार्टीको लेटरप्याडमा छापिएको विज्ञप्तिको खण्डन हुने गरी अध्यक्ष ओलीले सदस्यता ‘कु’ गर्नुको कारण बताएपछि संविधानको अपव्याख्या गर्ने द्धारपालहरू भने समस्यामा परेका थिए । संविधानमा वर्तमान राष्ट्रपतिका लागि उल्लेख भएका धाराहरू विद्याका नाममा आकर्षित हुने भन्दै केपीका द्धारपालहरूले पछिसम्म पनि लाजै नमानी तर्क गरिरहेका थिए ।

कतिसम्म भने नेपाली सेनाको परामाधिपति विद्यादेवी भण्डारी नै हो भन्ने हिसाबले उनीहरूले महिनाै तर्कहरू गरे । त्यही एमालेले नेपाली सेनाका जर्नेल र प्रहरीका पूर्व हाकिमहरूलाई संगठित गरेर एउटा छुट्टै जनवर्गीय संगठन नै बनाएको छ ।

विद्या एमालेको राजनीतिमा सक्रिय हुने बित्तिकै २० वर्ष एमालेको अध्यक्ष हुन्छु भनेर सार्वजनिक घोषणा गर्नुभएको ओलीको कुर्सी खतरामा पर्ने भएपछि भण्डारीको नविकरण भैसकेको सदस्यता समेत गैरकानुनी भनेर एमालेले गैरसंवैधानिक तर्कहरू पेश गरिरहेको थियो ।

केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव बिनानै ओलीले विद्याको सदस्यता ‘कु’ गरेको घोषणा गगर्नुभएको थियो । जुनकुराको प्रतिवाद गर्ने र असहमति राख्ने ठाउँ समेत ओलीले नदिएको एमालेको तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बीबीसीसँगको एउटा कुराकानीमा प्रष्ट भाषामा बताउनुभएको थियो । उहाँले बैठकमा ओलीले बोल्न नदिएको भए पनि उहाँको घोषणामा रहेको असहमतिलाई केन्द्रीय कार्यालयमा लिखित रूपमै दर्ज गराउनुभएको थियो ।

ओलीले चार दशकदेखिको पार्टी सदस्यतामा ‘कु’ गरेपछि भण्डारीले भने कार्यकर्ता मार्फत त्यसको प्रतिवाद गर्ने निर्णय लिनुभएको थियो ।

प्रकाशित मिति : 18:24