७ दिनभित्र कर्जा चुक्ता गर्न ऋणीलाई इन्भेष्टमेण्ट मेगाको अन्तिम सूचना
४ जेठ,काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बैंकबाट लिएको ऋण लामो समयसम्म चुक्ता नगर्ने ऋणीहरूको धितोमा रहेको चल तथा अचल सम्पत्ति लिलाम बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
बैंकले आज एक सूचना जारी गर्दै सम्बन्धित ऋणी र जमानीकर्ताहरूलाई बक्यौता चुक्ता गर्न ७ दिनको अन्तिम समयसीमा दिएको हो । बैंकले ११ ऋणीको तीन पुस्ते विवरण सार्वजनिक गर्दै ७ दिनभित्र कर्जा चुक्ता गर्न भनेको छ ।
पटक-पटकको मौखिक तथा लिखित ताकेताका साथै यसअघिका सार्वजनिक सूचनाहरूलाई समेत बेवास्ता गरी कर्जा चुक्ता गर्न कुनै पहल नगरेका कारण यो अन्तिम सूचना निकालिएको बैंकले स्पष्ट पारेको छ ।
सूचना अनुसार, तोकिएको ७ दिनको म्यादभित्र सम्पूर्ण साँवा, ब्याज, हर्जाना र अन्य दस्तुर बुझाएर कर्जा चुक्ता नगरेमा ऋणीहरूलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिनेछ ।
साथै, बैंकको सुरक्षाका लागि धितोबन्धक राखिएको सम्पत्तिलाई ‘जस्तो छ त्यस्तै अवस्थामा’ गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : 14:39









