३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बालेन सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

३१ वैशाख, काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।

अर्थमन्त्री वाग्लेको जवाफपछि उहाँसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अर्यालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहनुभएन । विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समयको उपयोग गर्नुभएन । कतिपय विपक्षीका सदस्य बैठकबाट बाहिरिनुभएको थियो ।

सभामुख अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँ दिँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नुभयो ।

सभामुख अर्यालले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तत गर्दा बहुमतले संशोधनहरू अस्वीकृत भएको घोषणा गर्नुभयो । उक्त नीति तथा कार्यक्रममाथि ३५ विपक्षी सांसदले संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३÷८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे ।

प्रकाशित मिति : 23:14