मालती मङ्गले अमेरिका र क्यानडामा रिलिज हुँदै, अग्रिम बुकिङ उत्साहजनक
३१ वैशाख, काठमाडौं । गत शुक्रवारबाट नेपालभर प्रदर्शनमा आएर दर्शकको अपार माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ अब उत्तर अमेरिकाका दर्शकमाझ पुग्ने भएको छ। सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा यो चलचित्र अमेरिकामा यही मे १५ तारिख, शुक्रवारदेखि बक्स अफिसमा दैनिक शोसहित प्रदर्शनमा आउन लागेको हो।
अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस र अस्टिन लगायतका प्रमुख सहरहरूमा रिलिज हुन लागेको यस चलचित्रको अग्रिम बुकिङ निकै उत्साहजनक रूपमा भइरहेको छ। अङ्ग्रेजी सबटाइटलसहित प्रदर्शन हुने यस चलचित्रको क्यानडा रिलिजका लागि पनि अधिकार बिक्री भइसकेको छ। आँगन इभेन्ट्सले क्यानडाको प्रदर्शन अधिकार खरिद गरेको हो। यो रिलिजसँगै डायस्पोरामा पनि दर्शकको व्यग्र प्रतीक्षा रहेको प्रस्ट हुन्छ। यस्तै अन्य देशमा पनि ‘सोल्ड आउट’ भइरहेको र यसको जानकारी छिट्टै दिने निर्माता रामकृष्ण ढकालले बताए।
नेपालमा प्रदर्शनको पहिलो सातामै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का कारण अहिले देशभरका सिनेमाघरहरूमा दर्शकको चाप उल्लेख्य बढेको छ। सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई पेट मिचीमिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउने ‘नेपालीपन बोकेको अब्बल मास्टरपिस’को सङ्ज्ञा दिएका छन्। विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेताद्वय विजय बराल र मेक्सम गौडेलको प्रस्तुतिले सबैको मन जितेको छ भने दर्शकबाट प्राप्त मायाले चलचित्रको बक्सअफिस यात्रा आगामी दिनमा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको सशक्त अभिनय रहेको छ। सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ।
प्रकाशित मिति : 17:16









