सदनमा प्रधानमन्त्री खोज्दै हर्कले भनेः आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
३१ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राख्नुभएकाे छ ।
बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै साम्पाङले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि उपस्थित हुनुपर्ने बताउनुभयाे । यदि प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘उहाँले छलफलमा सुन्नुभएन, तर उत्तर दिने बेलामा उहाँ आउनुहुनेछ भन्ने विश्वास लिएको छ। यदि उहाँ आउनुभएन भने हाम्रो पार्टी बाहिरिनेछ। हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन।’
उहाँले सामाजिक परम्पराको प्रसङ्ग उठाउँदै आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन नमिल्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ । ’
प्रकाशित मिति : May 14, 2026 at 4:52 pm









