हामी सदनमा कुरा उठाउँछौं, प्रधानमन्त्री फेसबुकमा जवाफ दिनुहुन्छः खुश्बु ओली
३१ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी भएको भन्दै आपत्ति जनाउनुभएकाे छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई उपेक्षा गरेको आरोप लगाउनुभयाे ।
उहाँले लोकतन्त्र केवल निर्वाचन जित्ने प्रणाली मात्र नभई निरन्तर संवादको अभ्यास भएको उल्लेख गर्दै प्रधानमन्त्रीको संसद्मा न्यून उपस्थितिले उहाँ सदनप्रति अनिच्छुक रहेको पुष्टि हुने तर्क गर्नुभयाे ।
‘प्रधानमन्त्री पहिलो अधिवेशनमा नबोली जानुभयो, दोस्रो अधिवेशनमा आफ्नै नीति तथा कार्यक्रमको छलफल चलिरहँदा बीचमै उठेर हिंड्नुभयो । हामी सदनमा सुकुमवासी र संवैधानिक परिषद्का कुरा उठाउँछौँ, तर प्रधानमन्त्री सामाजिक सञ्जालको पोस्टमार्फत जवाफ दिनुहुन्छ । यो संसदीय अभ्यासप्रति अनुत्तरदायी हुने एउटा प्रवृत्ति (प्याटर्न) नै बनेको छ,’ उहाँले भन्नुभयाे ।
जनताले एक शक्तिशाली प्रधानमन्त्रीका रूपमा विश्वास गरेको उल्लेख गर्दै ओलीले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा मात्र सीमित नभई सदनमा उपस्थित भएर जवाफदेही बन्न आग्रह गर्नुभयाे ।
प्रकाशित मिति : 13:11









