चिया निर्यातको अवरोध हटाउन भारतसँग कूटनीतिक पहल गर्न सुहाङको माग
३० वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालबाट भारततर्फ हुने चिया निर्यातको अवरोध हटाउन सरकारसँग माग गर्नुभएकाे छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद नेम्वाङले भारतीय अवरोधका कारण नेपाली चिया क्षेत्र संकटमा परेको भन्दै तत्काल कूटनीतिक पहल गर्न अनुराेध गर्नुभएकाे हाे ।
सांसद नेम्वाङले टी बोर्ड अफ इन्डियाको पछिल्लो नीतिका कारण चिया निर्यात ठप्प भएको उल्लेख गर्दै यसले देशको अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पारेको बताउनुभयाे। उहाँले चिया किसान र उद्योगीहरूको संरक्षणका लागि ठोस नीति बनाउन सरकारलाई सचेत गराउनुभयाे ।
नेम्वाङले भन्नुभयाे, ‘टी बोर्ड अफ इन्डियाको पछिल्लो नीतिले चिया निर्यात ठप्प हुन पुगेको छ। यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ। त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु– भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस्, चिया निर्यातको अवरोध समाधान गरियोस् र चिया उद्योगी र किसानहरूको संरक्षणका लागि ठोस नीति बनाइयोस्।’
प्रकाशित मिति : 14:55









