कुईन्सल्याण्ड नेप्लिज फुटवल एशोशियसन लिगको फाइनलमा बिनएनएफसी बिजयी
ब्रिसबेन (अष्ट्रेलिया) क्विन्सल्याण्ड नेप्लिज फुटबल एशोसिएशन (क्यूएनएफए) को आयोजनामा सम्पन्न पहिलो क्यूएनएफए लिग २०२६ को उपाधि ब्रिसबेन नेप्लिज फुटबल क्लब (बीएनएफसी) ले जितेको छ।
शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा बीएनएफसीले गोर्खा फुटबल क्लबलाई ४–२ को गोल अन्तरले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
सिजनभर अपराजित रहेको बीएनएफसीले फाइनल जितेसँगै ‘ग्रान्ड फाइनल च्याम्पियनसिप’ र ‘लिग प्रिमियर्स सिल्ड’ गरि दोहोरो उपाधि आफ्नो नाममा लेखायो। लिग चरणका ८ खेलमध्ये बीएनएफसीले ७ जित र १ बराबरीको नतिजा निकालेको थियो।
विजेता बीएनएफसीले लिग प्रिमियर्स तर्फ शिल्ड र मेडलसहित १५ सय डलर तथा ग्रान्ड फाइनल विजेताका रूपमा थप एक हजार डलर नगद पुरस्कार प्राप्त गर्यो। उपविजेता गोर्खा फुटबल क्लबले लिग रनर–अप बापत एक हजार डलर र फाइनल उपविजेताका रूपमा ५ सय डलरमा चित्त बुझायो।
फाइनल खेलमा बीएनएफसीका दिपेश आले ‘म्यान अफ द म्याच’ चुनिए। उनले प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीको ट्रफी समेत जिते। अन्य विधागत अवार्ड तर्फ बीएनएफसीकै जय गुरुङ लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भए। नरेन राई (बानाक) उत्कृष्ट गोलकिपर, अञ्जन चाम्लिङ राई (गोल्ड कोस्ट) उत्कृष्ट डिफेन्डर र समिर गुरुङ (गोर्खा एफसी) उत्कृष्ट मिडफिल्डर चुनिए। रातो चन्द्र सूर्य फुटबल क्लबले ‘फेयर प्ले अवार्ड’ पायो।
पुरस्कार वितरण समारोहमा एनआरएनए क्विन्सल्याण्डका संयोजक अतुल खड्काले यस्ता खेलकुद गतिविधिले नयाँ पुस्तालाई समुदायमा जोड्न मद्दत पुग्ने बताउनु भयो। खेल व्यक्तित्व कमल गुरुङले लिगको सफलताले सामुदायिक एकताको सन्देश दिएको उल्लेख गर्नु भयो । प्रतियोगितामा क्विन्सल्याण्डका विभिन्न नेपाली क्लबहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति : 13:22









