२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

आगामी आर्थिक वर्षको बजेटमा यस्ता छन् अर्थमन्त्रीका प्राथमिकता

२९ वैशाख, काठमाडौं ।  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताउनुभएको छ ।

सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा उहाँले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले राजस्व चुहावट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गर्नुभयो । स्वदेशी उत्पादनलाई समस्यामा पार्नेगरी अवैध तस्करी नियन्त्रणमा लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्दै आम जनताको दैनिक जीविकोपार्जनका लागि हदैसम्मको लचक हुने बताउनुभयो ।

अर्थमन्त्रीले सरकारको नियमित दायित्व मात्रै करिब रु १३ खर्ब ३० अर्ब रहेको, करिब रु सात खर्ब अपुग हुने तथ्य पेस गर्नुभयो । उहाँले सिर्जनशील कार्यक्रमका लागि आफूले स्रोत जुटाउने विश्वास दिलाउँदै चुनौतीलाई अवसरका रूपमा बदल्ने बताउनुभयो । अर्थ मन्त्रालयले यसअघि नै मन्त्रालयहरूलाई बजेटको ‘सिलिङ’ तोकेर पठाइसकेको जानकारी दिँदै उहाँले त्यस आधारमा नै सम्बन्धित मन्त्रालयमार्फत समावेश गर्न सकिने विषय भए मन्त्रालयले सम्बोधन गर्ने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्रीले नियमित स्रोतबाट मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसकिने भएकाले सरकारले ‘वैकल्पिक वित्तसम्बन्धी विधेयक’ तत्काल अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँले सो विधेयकलाई थप समृद्ध बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

पाँच वटा ‘थिम’मा आगामी बजेट

अर्थमन्त्री वाग्लेले पाँच वटा ‘थिम’मा आगामी आर्थिक वर्षको बजेट आउने जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार गठन भएपछि अगाडि बढाइएको सुशासनको लाभांश वितरण गर्ने तरिकाले बजेट विनियोजन गर्ने विश्वास दिलाउनुभयो ।

यस्तै, उहाँले अर्थतन्त्रको पुनः संरचना गर्नेगरी बजेट आउने उल्लेख गर्नुभयो । त्यस्तै, सम्पर्क सञ्जालको विस्तार एवम् सहरी विकास, भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ, खानेपानी सडकजस्ता ‘डिजिटल’ नेटवर्कका लागि ठूलो लगानी गरिने जानकारी गराउनुभयो ।

अर्थमन्त्रीले निजी क्षेत्रलाई पनि सडक पूर्वाधार निर्माणमा सहभागी गराउने योजना सरकारको रहेको उल्लेख गर्नुभयो । नेपालको सौम्य शक्तिको विस्तारमार्फत संस्कृति, पर्यटन र परराष्ट्र सम्बन्धको थप प्रवर्द्धन गर्ने, डायोस्परालाई आर्थिक विकासमा सहभागी गराउने गरी उक्त स्रोतको परिचालन गर्ने उहाँको कथन छ ।

उहाँले आगामी आवको बजेटमा सरकारको नीति तथा कार्यक्रम, शासकीय सुधार र सरकारको वाचापत्रलाई समेटिने दोहोर्‍याउनुभयो । बजेटका प्राथमिकता तथा सिद्धान्तमार्फत सुधारमुखी ‘एजेन्डा’ अघि सारिने अर्थमन्त्रीको भनाइ छ ।

त्यस्तै, विप्रेषणमा आधारित अर्थतन्त्रलाई क्रमशः उत्पादनमा आधारित बनाउने र सामाजिक उन्नयन तथा मध्यम वर्गको विस्तारमा जोड दिइने उहाँले बताउनुभयो । उहाँले आफूले अर्थमन्त्रालय सम्हालेदेखि साना–ठूला गरी ३०० भन्दा बढी काम भइसकेको समितिलाई जानकारी दिनुभयो । उहाँले यही वैशाख ३१ गते संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने जानकारी गराउनुभयो । सांसदहरूले संसद्मा दिनुहुने सुझावलाई समेत बजेटमा समावेश गरिने उल्लेख गर्नुभयो ।

सीमा क्षेत्रमा हुने तस्करी निर्मम भएर नियन्त्रण गरिने अर्थमन्त्री डा वाग्लेको भनाइ छ । सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकलाई दैनिक उपभोगका सामग्री खरिदमा सहजीकरण गर्ने तर सङ्गठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा भने कडा रूपमा प्रस्तुत हुने उहाँले स्पष्ट पार्नुभयो ।

रु एक सयभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था वर्तमान सरकारले ल्याएको नभई दशकौँदेखि कायम रहेको नीति भएको र चालु आवको बजेटमा सो व्यवस्था रहेको जानकारी दिनुभयो । एकै दिनमा पटक–पटक सीमा वारपार गरेर नेपाली बजार र गोदाममा सामान भित्र्याई स्वदेशी उत्पादनलाई क्षति गर्ने गिरोहविरुद्ध विशेष अभियान सञ्चालन गरिने उहाँको भनाइ छ ।

सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउन सरकारले सीमा क्षेत्रमा क्यामेरा, अनुहार पहिचान गर्ने यन्त्र, नाइट भिजन उपकरण र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित निगरानी प्रणाली प्रयोग गर्ने योजना अघि सारिएको उहाँको कथन छ ।

‘धितोपत्रप्रति उदार नीति’

अर्थमन्त्री डा वाग्लेले धितोपत्र बजारको विकासका लागि सरकारले उदार नीति अगाडि सारेको जानकारी दिनुभयो । उहाँले राष्ट्रपतिले सोमबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्टक मार्केट, पुँजी बजारबारे एकदमै उदार नीतिहरू घोषणा गरिएको उल्लेख गर्नुभयो । उहाँले त्यसलाई बजेटमा थप आकार दिइने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले केही सीमित समूहले पुँजी बजारमा चलखेल गरेर ‘इन्साइडर ट्रेडिङ’ गरी जनताको ठूलो रकम दुरूपयोग गरिएको यथार्थता पेस गर्नुभयो । उहाँले त्यस्ता समूहले आर्थिक लाभ मात्र नभई राजनीतिक संस्थामाथि समेत प्रभाव जमाएको दाबी गर्नुभयो । अर्थमन्त्री वाग्लेले स्टक एक्सचेन्जको पुनः संरचनाका लागि गठन गरिएको एउटा समितिले प्रतिवेदन दिएको जानकारी दिँदै त्यसलाई क्रमशः कार्यान्वयनमा लगिने बताउनुभयो । उहाँले जेनजी आन्दोलनले मुलुकलाई गलत दिशामा जानबाट जोगाएको र हाल सुशासनलाई ठूलो प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख गर्नुभयो ।

सांसदहरू ध्रुव्र राई, परशुराम तामाङ, भरत गिरीलगायतले आगामी आर्थिक वर्षको बजेटका बारेमा सुझाव दिनुभएको थियो ।

प्रकाशित मिति : 18:13