आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब
२९ वैशाख, काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा यसबारे जानकारी दिनुभएकाे हाे ।
राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको सचिव उपाध्यायले बताउनुभयाे ।
सचिव उपाध्यायका अनुसार तोकिएको १८ खर्ब ९० अर्बको सिलिङभित्र रहेर बजेट बनाउन विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको छ। ‘मन्त्रालयगत बजेट सूचना प्रणालीमा सबै मन्त्रालयले आफ्नो योजना र विवरण प्रविष्ट गरिसकेका छन्,’ उहाँले भन्नुभयाे, ‘अहिले अर्थ मन्त्रालयले प्रत्येक मन्त्रालयसँग बजेटका प्राथमिकता, अनावश्यक खर्च कटौती र अधुरा आयोजनाका बारेमा छुट्टाछुट्टै छलफल गरिरहेको छ ।’
चालु आर्थिक वर्षको खर्च र राजस्वको अवस्था कमजोर रहेकै बेला आगामी वर्षको बजेटको तयारी भइरहेको छ। सचिव उपाध्यायले प्रस्तुत गरेको विवरणअनुसार चालु वर्षमा हालसम्म पुँजीगत खर्च जम्मा २६ प्रतिशत मात्र भएको छ भने राजस्व सङ्कलन लक्ष्यको ६० प्रतिशत (८ खर्ब ८६ अर्ब) मात्र पुगेको छ ।
प्रकाशित मिति : 13:28









