२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

८६ प्रतिशतले बढ्यो अपि पावरको नाफा, विद्युत बिक्री आम्दानी कति ?

२९ वैशाख, काठमाडौं। अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८६.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको वित्त खर्चमा उल्लेखनीय गिरावट आएको छ । अघिल्लो वर्ष ४५ करोड ८८ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर यस वर्ष ३१ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.९६ प्रतिशतले बढी हो।

६ अर्ब ३७ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ६५ करोड ३९ लाख रुपैयाँ छ भने कुल चालु दायित्व २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.७६ रुपैयाँबाट बढेर १३.७६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.३० गुणा रहेकाे छ ।

प्रकाशित मिति : 12:12