हिजो अध्यादेशको विरोधमा सदन तताउनेहरू आज त्यही बाटो हिँडिरहनुभएको छः पद्मा अर्याल
२८ वैशाख, काठमाडाैं । नेकपा (एमाले) का पद्माकुमारी अर्यालले संसदीय मर्यादा र विधिको शासनलाई सम्मान गर्न तथा प्रस्तुत अध्यादेशहरु फिर्ता गर्न आग्रह गर्नुभएकाे छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले हिजो अध्यादेशको विरोधमा सदन तताउनेहरू आज त्यही बाटोमा हिँडेको टिप्पणी गर्नुभयो ।
‘मलाई हिजोका दिनहरू याद आइरहेका छन्- हिजो अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आघात भन्दै यही सदन तताउनेहरू आज स्वयम त्यही बाटोमा निर्धक्क हिँडिरहनुभएको छ। यो राजनीतिक विवेकको परिपक्वता हो कि सत्ता सुविधाअनुसार बदलिएको नैतिकता? जनताले यसलाई रूपान्तरण भनेर बुझ्ने कि निर्लज्जताको पराकाष्ठा भनेर चिन्ने ?’
देश अहिले बहुमतको निरंकूशताको खतराको संघारमा रहेको उल्लेख गर्दै अर्यालले नयाँ सोच, नयाँ सरकार, नयाँ गति र नयाँ संकल्पको आकर्षक नाराले जनताको मत त जिते पनि व्यवहारमा त्यो नदेखिएको बताउनुभयाे ।
प्रकाशित मिति : 14:59









