२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

वैशाखभित्रै एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यी माध्यमबाट हेर्न सकिन्छ

२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा यही वैशाख महीनाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यस वर्षदेखि एसइईको नतिजा परीक्षा सकिएको एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य तय गरेसँगै बोर्डले तीव्र रूपमा काम अघि बढाएको हो।

यसअघि एसइईको नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरेको थियो।   तर, यसपटक सरकारले छिटो नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि बोर्डले सम्पूर्ण प्रक्रिया छोटो समयमै सम्पन्न गर्ने गरी काम गरेको जनाएको छ।

नतिजा सार्वजनिक गर्ने तयारी गरेसँगै विभिन्न संस्थाहरूलाई नतिजासम्बन्धी विवरण प्रकाशित गर्न स्वीकृति दिएको छ। कार्यालयले सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको हो।
परीक्षार्थीहरूले मोबाइलबाट एसएमएस पठाएर वा फोनमार्फत पनि आफ्नो नतिजा हेर्न सक्नेछन्। नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, यूएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ। त्यसैगरी, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा एसएमएस पठाएर नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी, विस्तृत नतिजा तथा मार्कसिट इन्टरनेटमार्फत हेर्नका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न वेबसाइटहरूलाई अनुमति दिइएको बोर्डले जनाएको छ। आधिकारिक सरकारी वेबसाइट www.see.gov.np र www.neb.gov.np बाट नतिजा हेर्न सकिनेछ। साथै नेपाल टेलिकम, कान्तिपुर, इडियु सञ्जाल, खल्ती लगायतका प्लेटफर्ममार्फत पनि नतिजा उपलब्ध गराइनेछ।

प्रकाशित मिति : 11:41