‘सक्षम सांसद, सशक्त संसद्’ शीर्षकमा रास्वपाले सांसदहरूलाई पाढउने
२६ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सक्षम सांसद, सशक्त संसद्’ शीर्षकमा रास्वपाले सांसदहरूलाई पाढउने भएको छ । रास्वपाले शनिबारदेखि सांसदहरूलाई पाढउने कार्यक्रम गर्न लागेको नेता कमल सुवेदीले जानकारी दिनुभयो ।
रास्वपाको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधि सभा सदस्यहरूका लागि ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुने सुवेदीले जानकारी दिनुभयो ।
आइतबारसम्म ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रशिक्षण सञ्चालन हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहान ११ बजे गर्ने उहाँले जानकारी दिनुभयो ।
संसद्लाई जनताको पक्षमा थप प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवं नीतिगत सीप विकास गर्न यो प्रशिक्षण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। प्रशिक्षणको पहिलो दिन सदन र सरकारको अन्तरसम्बन्ध एवं संसदीय प्रक्रियामा केन्द्रित रहनेछ ।
जसअन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिनुहुनेछ । त्यसैगरी, संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने सक्रिय भूमिकाका विषयमा संसदीय दलका उपनेता गणेश पराजुली र संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले आफ्ना अनुभव र विधिहरू प्रस्तुत गर्नुहुनेछ।
दोस्रो दिनको सत्र विशेषगरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनेछ। सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिनुहुनेछ भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउनुहुनेछ।
साथै, सह-महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रबि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने सुवेदीले बताउनुभयो ।
प्रकाशित मिति : 07:38









