२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

कुईन्सल्याण्ड नेप्लिज फुटवल एशोशियसन लिगको फाइनलमा बिनएनएफसी र जिएफसी

ब्रिसबेन,  मे १० आइतवार ब्रिसवेन नेप्लिज फुटवल क्लव (BNFC) र गोरखा फुटवल क्लव (GFC) बिच पहिलो कुईन्सल्याण्ड नेप्लिज फुटवल एशोशियसन (QNFA ) ग्रान्ड फाइनल खेल्ने भएका छन् । दिउँसो ४ बजे Mansfield स्थित Eaglesports Complex मा खेल हुने QNFA सचिव सुनिल पराजुलीले बताउनु भयो ।

क्वीन्सल्याण्डमा नेपाली फुटबल समुदायलाई एकताबद्ध गर्ने उद्देश्यसहित स्थापना भएको कुईन्सल्याण्ड नेप्लिज फुटवल एशोशियसन (QNFA) ले छोटो समयमै ऐतिहासिक सफलता हासिल गरेको छ। फुटबल, सहकार्य र सामुदायिक सहभागितालाई मुख्य आधार बनाउँदै सुरु गरिएको QNFA अहिले नेपाली समुदायबीच चर्चित र प्रभावशाली खेलकुद प्लेटफर्मका रूपमा स्थापित भएको छ।

QNFA को यात्रामा क्वीन्सल्याण्डभरिका ११ वटा क्लब सहभागी बनेका थिए। ती क्लबहरूको सक्रिय सहभागिता र समर्थनले नेपाली फुटबल समुदायमा नयाँ ऊर्जा थपेको आयोजकले जनाएको छ। यसैबीच, पहिलो संस्करणको QNFA League 2026 मा ८ वटा टोली सहभागी हुँदै प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ ।

प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने व्यावसायिक र प्रतिस्पर्धात्मक वातावरण प्रदान गरेको सचिव पराजुलीले बताउनु भयो । प्रत्येक खेलसप्ताहमा दर्शक, समर्थक र समुदायको उल्लेखनीय उत्साह देखिएको थियो भने नेपाली फुटबलप्रेमीहरूबीच प्रतियोगिताले छुट्टै आकर्षण सिर्जना गरेको उहाले बताउनु भयो ।

छोटो समयमै स्थापना भए पनि QNFA ले खेल तालिका व्यवस्थापन, टोली समन्वय तथा खेल सञ्चालनलाई व्यवस्थित रूपमा सफलतापूर्वक अगाडि बढाएको जनाएको छ। प्रतियोगिताले नेपाली समुदायबीच मित्रता, एकता, नेटवर्किङ र खेलभावनालाई थप मजबुत बनाएको विश्वास गरिएको छ।

प्रतियोगिता सफल बनाउन क्लब, खेलाडी, स्वयंसेवक, प्रायोजक, समर्थक तथा समुदायका विभिन्न व्यक्तिहरूको महत्वपूर्ण भूमिका रहेको QNFA ले उल्लेख गरेको छ। मौसमको चुनौती र खेल मैदान परिवर्तनजस्ता कठिनाइबीच पनि प्रतियोगितालाई निरन्तरता दिँदै सफलतापूर्वक समापनतर्फ पुर्‍याइएको छ ।

सेमिफाइनल चरणका खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए। उत्कृष्ट प्रदर्शन गर्दै ब्रिसवेन नेप्लिज फुटवल क्लव (BNFC) र गोरखा फुटवल क्लव (GFC) ले ऐतिहासिक पहिलो QNFA ग्रान्ड फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

QNFA ले वरिष्ठ खेलाडीहरूलाई मात्र नभई युवा पुस्तालाई पनि फुटबल तथा सामुदायिक गतिविधिमा आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको सचिव पराजुलीको भनाइ रहेको छ । प्रतियोगिता केवल फुटबलमा सीमित नभई नेपाली संस्कृति, मनोरञ्जन, सामुदायिक सम्बन्ध र सकारात्मक सहभागिताको साझा मञ्च बनेको उहाले बताउनु भयो ।

एशोशियसनले  सम्पूर्ण नेपाली समुदाय, फुटबल समर्थक, व्यवसायी, परिवार तथा सरोकारवालाहरूलाई ऐतिहासिक फाइनल अवलोकन गर्न उपस्थित हुन आग्रह गरेको छ।

सचिव पराजुलीले प्रतियोगिताको यहा सम्मको सफलताको वास्तविक रहस्य भनेको सबै क्लब, खेलाडी, स्वयंसेवक, प्रायोजक, समर्थक तथा क्वीन्सल्याण्डस्थित सम्पूर्ण नेपाली समुदायको एकता, समर्पण, सहकार्य र निरन्तर समर्थन रहेको बताउनु भयो ।

उहाले QNFA ले भविष्यमा अझ ठूला अवसर र प्रतियोगिताहरू आयोजना गर्दै क्वीन्सल्याण्डमा नेपाली फुटबललाई थप उचाइमा पुर्‍याउने लक्ष्य लिएको समेत बताउनु भयो ।

प्रकाशित मिति : 06:15