७ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
२१ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ७ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।
राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ५ अर्ब ८४ करोड, ‘ख’ वर्गका बैंकमा एक अर्ब ९ करोड ५० लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ३६ करोड ५० लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।
मुद्दती निक्षेपमा २०२६ मे ११ देखि २०२७ मे ११ सम्म ३६६ दिनका लागि राखिने राष्ट्र बैंकले जानकारी दिएको छ । मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम खुलाइ वैशाख २४ गते भित्र ब्याजदर प्रस्ताव आह्वान गर्न राष्ट्र बैंकले अनुराेध गरेकाे छ ।
बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राष्ट्र बैंकले राखेकाे छ ।
प्रकाशित मिति : 16:19









