२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

२१ वैशाख, काठमाडाैं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले आह्वान गरेको आवेदन दिने म्याद आज सोमबार अन्तिम दिन रहेको हो ।

हालसम्म अध्यक्ष पदका लागि २२ जनाको आवेदन परेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्षा भुवनकुमार दाहाल हुनुहुन्छ ।

सो समितिले प्राप्त आवेदनमध्येबाट तीन जनालाई सिफारिस गरेपछि सरकारले तीमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको दिनदेखि सात दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्न समितिले भनेको छ ।

प्रकाशित मिति : 14:57