१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

कमलको कलमबाट नयाँ गीत ‘मुया रानी’ सार्वजनिक

२१ वैशाख, काठमाडौं। प्रेम र भावना समेटिएको नयाँ गीत ‘मुया रानी’ सार्वजनिक गरिएको छ। हरेक युगल जोडीप्रति समर्पित यस गीतले मायालु मनको संवेदनशील पक्षलाई संगीत, शब्द र अभिनयमार्फत प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। राजधानी काठमाडौँमा स्थित होटल कावेरी इनमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो।

भिडियो रिलिज कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिस्ट कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रममा बिसेष अतिथिको रुपमा संगीतकार राजु सिंह,गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, गीतकार आनन्द अधिकारी,नेपाल सरकारका सचिव अशोक क्षेत्री,पुर्व एआइजी श्याम ज्ञवाली,गायक संगीतकार रेशम सापकोटा लगाएत थुप्रै बिसिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

गीतले माया गर्ने मान्छेले आफूले माया गरेको व्यक्तिलाई नभेट्दा र नदेख्दा मनमा उठ्ने आतुरता, व्याकुलता र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले चित्रण गरेको छ। साथै, प्रेम गर्ने जोडीहरू कहिल्यै अलग नहोस् भन्ने सन्देश बोकेको यस सिर्जनाले संसार नै मायामा टिकेको हुन्छ भन्ने यथार्थलाई उजागर गरेको छ। प्रेमिल संसारमा कहिल्यै अन्धकार नहोस् र प्रेमले जीवनलाई सदाबहार बनाइरहोस् भन्ने भाव गीतमा समेटिएको छ।

गीतमा रामचन्द्र काफ्ले र दीपिका बयम्बु मगरको सुमधुर स्वर रहेको छ भने शब्द कमल शर्मा आचार्यले लेखेका हुन्। संगीत ऋषि खड्काले तयार पारेका हुन्। गीतकार कमल शर्मा आचार्यका यस अघि पनि केहि गीतहरु सार्वजनिक भई सकेका छन्। कमलको कलमबाट कोरिएका शब्दमा तयार गीतको भिडियो आफ्नो श्रीमतीको जन्म दिनको अवसर पारेर सार्वजनिक गरेका हुन्।

म्युजिक भिडियोमा सुरेश कोहली र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ। भिडियोको निर्माण व्यवस्थापन दिपेन गौतमले गरेका छन् भने सह–निर्देशन सैलेश खत्रीले सम्हालेका छन्। पुनम श्रेष्ठको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडियोका निर्देशक एलिश खनाल हुन्। एलिश खनालले गीतको अडियो अनुसार भिडियो उत्कृस्ट बनाएका छन्। कार्यक्रममा बोल्ने क्रममा अतिथिहरुले काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका क्षेत्रमा खिचिएको भिडियो राम्रो बनेको भन्दै प्रसंशा समेत गरे।

‘मुया रानी’ले प्रेम, समर्पण र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्दै दर्शक तथा स्रोताको मन छुने विश्वास गरिएको छ। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : May 4, 2026 at 12:04 pm