२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सूर्यज्योति लाइफको ८ लाख ८७ हजार कित्ता सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

२१ वैशाख, काठमाडाैं। एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि कम्पनीको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले यही वैशाख २८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिनेछ। साथै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयका साथै यसका विभिन्न शाखा कार्यालयहरु—विराटनगर–३ (मोरङ), आदर्शनगर (वीरगञ्ज), महेन्द्रपुल (पोखरा), श्रवणपथ (बुटवल), हस्पिटल लाइन (धनगढी) र वीरेन्द्रनगर (सुर्खेत) बाट पनि फाराम प्राप्त गरी सोही स्थानमा बुझाउन सकिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : 10:02