११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

२० वैशाख, काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।

टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको छ। टिजरले फिल्मको डार्क, इन्टेन्स तथा एक्सन–ड्रिभेन टोन स्पष्ट झल्काउँछ। उत्कृस्ट ब्याकग्राउन्ड म्युजिक, आकर्षक सिनेम्याटोग्राफी र पात्रहरूको प्रस्तुतीले फिल्म ठूलो क्यानभासमा निर्माण गरिएको संकेत गर्छ।

फिल्ममा अशोक आर्यन मुख्य भूमिकामा देखिएका छन्। उनका साथमा सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा र सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको उपस्थितिले फिल्मलाई अझ फराकिलो दर्शकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन्। उनले गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन्। ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘कुम्भ’ नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने छ । सिनेमाको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ ।

यसअघि सार्वजनिक भएको गीत स्वर्गकी परीले पनि फिल्मप्रति राम्रो चर्चा बटुली सकेको छ । गीतमा अञ्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ। भिडियोमा अशोक आर्यन र सृष्टि खड्काबीचको केमेस्ट्रीले दर्शकको ध्यान खिचेको थियो। आकर्षक लोकेसनमा छायांकन गरिएको उक्त गीतले फिल्ममा रोमान्टिक पाटो पनि सशक्त रहने संकेत गरेको छ।

छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेको सिनेमा संजय थापाको द्धन्द्व निर्देशन तथा निर्मातामा स्वयं निर्देशक श्रेष्ठ र राजेश साह अनि कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् । सिनेमाको टिजर आरएए डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

एक्सन र रोमान्सको संयोजन बोकेको ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको मिश्रणमार्फत नेपाली सिनेमा बजारमा फरक स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : May 3, 2026 at 12:27 pm