१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

पूँजीबजार सुधारको माग गर्दै प्रधानमन्त्रीसमक्ष लगानीकर्ता संघको ध्यानाकर्षण

१७ वैशाख, काठमाडाैं । देशको पूँजीबजारमा देखिएका गम्भीर समस्या र विसंगति समाधानका लागि नेपाल सेयर बजार लगानीकर्ता संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पूँजी बजारको सुधार, विकास र विस्तारका लागि तत्काल ठोस कदम चाल्न माग गरेको हो।

 संघद्वारा प्रधानमन्त्री बालेन साहलाई सम्बोधन गरी जारी पत्रमा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्र देखिएको अनियमितता, नीतिगत अस्थिरता, स्वेच्छाचारिता तथा विचौलियाहरूको प्रभावका कारण सर्वसाधारण लगानीकर्ताहरूमा निराशा बढेको उल्लेख गरिएको छ।

नेपालको कुल जनसंख्याको ५७ लाख ९ हजार ५६६ भन्दा बढी हितग्राही खातावालाहरू प्रत्यक्ष रूपमा शेयर बजारमा जोडिएका छन्। यति ठूलो संख्यामा सर्वसाधारणको लगानी रहेको क्षेत्रमा चरम निराशा छाउनुले मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पुग्ने संघको धारणा छ।

धितोपत्र बोर्डले साना लगानीकर्ताको हित संरक्षण गर्ने आफ्नो कानुनी दायित्व पूरा नगरेको संघको आरोप छ। ‘धितोपत्र सम्बन्धी ऐन २०६३’ को प्रस्तावनामा लगानीकर्ताको हित संरक्षण गर्ने उल्लेख भए पनि बोर्डले नेपाललाई एफएटीएफको ग्रे लिस्टमा पार्न भूमिका खेल्ने तत्वहरूको प्रभाव र मार्गनिर्देशनमा काम गरिरहेको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 13:45