सिड्नीमा नेपाली व्यवसायको बिकासमा लागी विज्ञहरुसहित छलफल हुदै
सिड्नी । अष्ट्रेलियामा रहेका नेपाली मुलका उद्यमी, व्यावसायिक व्यक्तित्व र नवप्रवर्तकहरूलाई एउटै थलोमा जोड्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले ‘नेसनल इन्टरप्रेनर कन्फरेन्स २०२६’ आयोजना गर्ने भएको छ।
आगामी मे ९ शनिवार सिड्नीस्थित ‘हायात रिजेन्सी’ मा सम्मेलन आयोजना हुनेभएको छ ।
‘कनेक्ट–इन्स्पायर–ग्रो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनले नेपाली डायस्पोराको लगानी, व्यावसायिक सञ्जाल विस्तार र ज्ञान आदान-प्रदानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त वक्ताहरूको सहभागिता सम्मेलनमा नेपाल र अष्ट्रेलियाका प्रतिष्ठित नेतृत्वकर्ताहरूले विभिन्न सत्रहरूमा आफ्नो अनुभव र विज्ञता बाँड्नेछन्:
• अनिल केशरी शाह (प्रमुख वक्ता): नेपालका प्रख्यात बैंकर तथा ‘लिड नेपाल इन्क’ का चेयरपर्सन शाहले “रेमिटेन्सदेखि लगानीसम्म: आर्थिक वृद्धिका लागि डायस्पोरा पुँजीको परिचालन” विषयमा विशेष सम्बोधन गर्नेछन्। उनले विदेशमा आर्जित धनलाई नेपालको उत्पादक क्षेत्रमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्नेबारे मार्गचित्र प्रस्तुत गर्नेछन्।
• ओलम्पिया क्विटोस्की (Olympia Kwitowski): अष्ट्रेलियाकी प्रतिष्ठित सञ्चार विज्ञ तथा ब्रोडकास्टर क्विटोस्कीले “तपाईँको कथा तपाईँ भन्दा राम्रो अरूले भन्न सक्दैन” शीर्षकमा सत्र सञ्चालन गर्नेछिन्। उनले व्यक्तिगत ब्रान्डिङ र प्रभावकारी प्रस्तुतिकलाका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिनेछिन्।
• एनरिको पेकोरा (Enrico Pecora): जोखिम व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ पेकोराले “स्मार्ट रिस्क म्यानेजमेन्ट”मार्फत व्यावसायिक नोक्सानी कसरी घटाउने र प्रतिस्पर्धी बजारमा कसरी लाभ लिने भन्नेबारे व्यवहारिक ज्ञान दिनेछन्।
नेटवर्किङ र अन्तरक्रियाको अवसर
बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म चल्ने यस सम्मेलनमा किबोर्ड प्रस्तुति, प्यानल छलफल (Panel Discussion), र अन्तरक्रियात्मक सत्रहरू समावेश गरिएका छन्। यसले नयाँ उद्यमीहरूलाई स्थापित व्यवसायीहरूसँग सम्बन्ध विस्तार गर्ने दुर्लभ अवसर प्रदान गर्नेछ।
एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष निजन चौलागाईंले यस पटकको सम्मेलन विशेष र परिणाममुखी हुने बताउनुभयो। उहाँले भन्नुभयो, “यो सम्मेलन केवल भेला मात्र होइन, बरु नेपाली उद्यमी र पेशेवर समुदायलाई जोड्ने, सिकाउने र सहकार्य बढाउने एउटा बलियो प्लेटफर्म हो।”
सम्मेलनको गरिमा र व्यवस्थापनलाई ध्यानमा राख्दै आयोजकले सहभागी हुन चाहनेहरूका लागि अग्रिम दर्ता अनिवार्य गरेको छ। उचित क्याटरिङ र सिट व्यवस्थापनका लागि समयमै सिट सुरक्षित गर्न एनआरएनए अष्ट्रेलियाले सबैमा अनुरोध गरेको छ।
प्रकाशित मिति : 05:48









