कसैलाई दुःख दिन होइन, आवश्यक सुधारका लागि अध्यादेशः रवि लामिछाने
१६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा पूरा गर्न तथा आवश्यक सुधारका लागि सरकारले अध्यादेश सिफारिस गरेको बताउनुभयो । आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
“विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरा गर्न सकिँदैन, पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो । अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारका लागि हो”, उहाँले भन्नुभयो, “यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो, कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुराको सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक वचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ ।”
जनप्रतिनिधिका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै कठिनाइ भए आफू आवश्यक सहजीकरणका लागि तयार रहेको जनाउँदै सभापति लामिछानेले सधैँ बैठक कुरेर पनि नबस्न र लिखित रूपमा आफ्नो कुरा राख्न अनुरोध गर्नुभयो ।
प्रकाशित मिति : April 29, 2026 at 4:05 pm









